खोटाङ । शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइएको छ । बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा बनाइएका घरटहरा हटाउन पटक–पटक हट्न अनुरोध गर्दासमेत अटेर गरिएकोले डोजर लगाएर भत्काइएको पालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष गोमा मगरका अनुसार कर्ण श्रेष्ठ, हरि खत्री, अर्जुन तामाङ, हिमाल राई, पदम राईको घरटहरा शनिबार भत्काइएको छ । ‘शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर घरटहरा बनाउने २७ घरपरिवारमध्ये शनिबार पाँच वटा घरटहरा भत्काइएको छ,’ मगरले भनिन्, ‘अरू भने पहिले नै सरिसक्नुभएको थियो ।’
स्थानीय सरकार सञ्चालन ऐनमा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण, रोकथाम तथा नियन्त्रण गर्ने अधिकार उपयोग गर्दै जग्गा खाली गरिएको मगरले सुनाइन् । उनका अनुसार शंखेश्वरी महादेव गुठीका नाममा भएको बराहाटार, चालीसे, सावाटारी, बाह्रमुरेलगायत विभिन्न ठाउँमा भएका जग्गा अझै स्थानीयले कब्जा गरेर बसेका छन् ।
२०४७ सालमा जिल्ला मालपोत कार्यालय खोटाङले स्थानीयले गैरकानुनी रूपमा हडपेको करिब ५५ रोपनी जग्गा फिर्ता गर्न आदेश दिएको थियो । तर उक्त आदेशअनुसार स्थानीयले अझै गुठीको जग्गा फिर्ता गरेका छैनन् । स्थानीयले भने आफूहरुको सुरक्षित आवासको व्यवस्था गर्न माग गर्दै आएका छन् ।
