शिशिर निङलेकु लिम्बु
विषय प्रबेश :
नेपाल बाहिर रहेका आम नेपाली नागरिकहरुलाई एउटै संगठनमा एकाकार बनाइ नेपालीहरुको अधिकारको रक्षा, मानवीय समस्याहरुमा मातृत्व प्रदान गर्ने, नेपालको सवाल पक्षलाइ विश्वमाझ प्रबर्धन गर्ने,विदेशमा नेपालीहरुले प्राप्त गरेका शीप, ज्ञान,अनुभव, दक्षता, र पुँजीलाइ स्वदेशमा उचित तरिकाले सदुपयोग गरेर नेपाललाइ विकसित देश बनाउने कार्यमा एउटा ईटाको काम गर्ने लगायतका उदेश्यहरु राखेर गैर आवासीय नेपाली संघ (एनआरएनए ) नामक संस्थाको सन् ११ अक्टोबर २००३ मा स्थापना भयो ।
“ एक चोटिको नेपाली सधैंको लागी नेपाली (once a nepali you always remain a nepali ) र नेपालीका लागी नेपाली (for nepali by nepali) “ जस्ता लोकप्रिय नाराहरुका साथ स्थापना भएको यस संस्थाले १८ वर्ष अवधिमा विश्वको ८२ देशहरुमा आफ्नो संगठन बिस्तार गर्न सफल भएको छ। झन्डै २ दशकको सांगठानिक कालखण्डमा गैर आवासीय नेपाली संघ ले विश्वमा रहेका नेपाली र मातृभूमि नेपालको लागी धेरै राम्रा कामहरु गरेको छ।
अर्को तर्फ गैर आवासीय नेपाली संघमा भएका संस्थागत बेइमानी, भ्रस्ट्चार,सांगठानिक शक्तिको दुरुपयोग आदि आरोपहरु पनि गैर आवासीय नेपाली संघ माथि चाङ्ग लाग्ने क्रम बड्दो छ। एनआरएनएको सवल पक्ष र दुर्वल पक्ष बारे अर्को आलेखमा चर्चा गर्ने बाचा गर्दै यस लेखमा एनआरएनए जापानबारे केहि सवालहरु पस्किने अनुमति चाहन्छु।
गैर आवासीय नेपाली संघ जापान :
गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान सन् २००४ फेब्रुवरी १२ तारिख स्थापना भयो। एनआरएनए जापानले ९ वटा कार्य समितिको अनुभव संकलन गर्दै १८ वर्षको लामो यात्राको उतरार्ध तिर आइ पुगेको छ । एनआरएनएलाइ तपशिल बमोजिमको व्यक्तित्वहरुले नेतृत्व गरि सक्नु भएको छ। राजन प्रधानाङ् ( सन् २००४-०६), राजन प्रधानाङ् ( सन् २००६ -०८ ), भवन भट्ट (सन् २००८-०१० ), लालबहादुर केसी (सन् २०१०-०११ ), ओम गुरुङ (सन् २०११-०१३ ),पारसमणी पोखरेल (सन् २०१३-०१५ ), सुदन थापा (सन् २०१५-०१७ ),टासी वाइबा लामा (सन् २०१२-०१९), देविलाल भण्डारी (सन् २०१९-०२१) गरि ९ औं महाधिबेसन सम्मको कार्य अवधि सकिएको छ।
सन् २०२१ को जुलाई २५ तारिख जापानको ओसाकामा गैर आवासीय नेपाली संघ जापानले १० औं महाधिबेसनको खुला सत्र वा नेतृत्व चयन बाहेकका कार्यहरु सम्पन्न गरि सकेको छ। एनआरएनए जापानको १० औं महाधिबेसनमा नेतृत्व (अध्यक्ष) को आकांक्षीहरुआधा दर्जनको हाराहारी हुनु हुन्छ। नराम्रोहरु बीच राम्रो चुन्ने भनाइ नेपाली समाज र नेपालमा जबरजस्त स्थापित भईसकेको छ । तर, एनआरएनए जापानको १० औं महाधिबेसनमा विरलै मात्रामा हुने प्रतिस्पर्दा हुँदै छ वा राम्रोहरु बीच अति राम्रो छान्ने जापानवासी नेपालीहरुमा सुनौलो अवसर आएको छ।
अध्यक्ष पदको सबै उम्मेदवारहरु क्षमतावान र योग्य भएतापनि एनआरएनए जापानको विधान अनुसार सो पदमा निर्वाचित एक जना मात्र हुने हो। सन् २००४ देखि सन् २०१९-०२१ सम्मको नेतृत्वहरु सबै पुरुष भएको हुँदा १० औं महाधिबेसनबाट गैर आवासीय नेपाली संघ जापानले महिला नेतृत्व छान्न सके विश्व भरिको एनआरएनए सस्था र एनआरएनएमा आस्था राख्नु हुने तमाम महिला दिदी बहिनीहरुको भावनाको उचित सम्मान हुने थियो कि ?
महिला नेतृत्व नै किन ?
(क ) महिला : गैर आवासीय नेपाली संघको नेतृत्वमा करिब २ दशक पुरुष नेतृत्वहरु जापानवासी नेपालीहरुले भोगी सकेका छन्। अर्को भाषामा भन्नु पर्दा १० औं महाधिबेशनबाट पुरुष नेतृत्व भन्दा पनि महिला नेतृत्व चयन भए देखिन अहिले देखिएका आर्थिक घोटाला र संस्थाको गिर्दो छवि सन्तुलनमा आउने आशा गर्ने हरुको संख्या बड्दो छ। सन् २०२१ जुलाई २२ तारिख नेपाल आदिवासी जनजाति महासंघ जापान ले महिला सहभागिता र समाबेसी एनआरएनए जापान हुनु पर्ने भनि ९ बुंदे सुझाव बुझाएको छ।
(ख) अनुभव : एनआरएनए जापानको अध्यक्ष पदको महिला उम्मेदवार सन् २०११ देखि सदस्य,महिला संयोजक,महिला उपाध्यक्ष, र बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेदारी पुरा गरि सक्नु भएको छ। अध्यक्ष पदको उम्मेदवारहरु कमैले मात्र सो संगठनको सदस्य देखि बरिष्ठ उपाध्यक्ष सम्मको अनुभव बटुल्ने सौभाग्य मिल्ने गर्छ।
(ग ) बरिष्ठता : संगठनको नेतृत्व भर्याङ् हुने गर्छ। एनआरएनए जापान को ९ औं महाधिबेसनले बरिष्ठ उपाध्यक्षमा महिला जिताउनु भनेको १० औं महाधिबेसनमा महिला अध्यक्ष आउनु पर्छ भन्ने साइलेन्स भोट पनि हो।
(घ) सक्रियता : घरवास देखि धेरै टाढाको प्रवासमा समयको अभाव सबैलाई समान र चर्को हुने गर्छ। नेपाली समाजमा घर गृहस्तिको काम छोडेर समाज सेवामा समर्पित भएका महिला दिदि बहिनिहरु कमै मात्र भेटिन्छ । सन् २०११ देखि २०२१ सम्म निरन्तर एनआरएनए संस्थामा खटिनुका साथै अरु संस्थाहरुमा पनि खटिएको अध्यक्षको उम्मेदवार गैरआवासीय नेपाली संघ जापान ले पाउनु आफैमा गर्वको कुरा हो।
(ङ) त्रिकोणात्मक समर्थन : गैर आवासीय नेपाली संघ जापानको १० औं महाधिबेसनको अध्यक्ष पदको महिला उम्मेदवारलाइ त्रिकोणात्मक समर्थन भएको देखिन्छ। जापानवासी महिलाहरु, आम नेपालीहरुको र एकल जातीय संस्थाहरुको समेत एनआरएनएको अध्यक्ष पदको उम्मेदवार अनिता गुरुङलाइ बलियो समर्थन भएको हुँदा अध्यक्ष पदमा निर्वाचित भएमा कार्य सम्पादनमा पनी सहजता हुने देखिन्छ।