धर्मनिरपेक्षता र जनमत सङ्ग्रह

विचार/अन्तर्वार्ता

एस निरौला

नेपालीमा एउटा उखान छ – क्यै काम पाइनस् ब्वारी पाडाको कन्नो कन्या । अहिले यो नेपाली उखान सान्दर्भिक हुँदै छ राजनीतिक वृत्तमा ! धर्मनिरपेक्षताका सम्बन्धमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयताको खारेजी गर्नुपर्छ भने । जनमत सङ्ग्रह गरेर धर्मनिरपेक्षताको छिनोफानो गर्ने प्रस्ताव अघि सारे ! उनले राष्ट्रिय एकताको प्रतीकमा राजा राख्नुपर्छ भन्नेसम्का अभिव्यक्तिहरू राखे ! यी कुराहरूले अहिले सामाजिक सन्जाल तातेको छ । कमल थापाहरूलाई त खुसी नै पारेको छ तर गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका पक्षधर आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भने विस्मित् पारेको छ । वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छु भनेर राजनीतिमा छिरेका मिश्रका यस्ता ताइ न तुइका कुराले उनको छवि त धमिलिएको छ नै साथै उनैकै सहयात्रीसमेतलाई टाउको दुखाइ बनेको छ । आफ्नै पार्टीको मार्गदर्शक सिद्धान्त विपरित हुनेगरी धारणा राखेकाले सर्वत्र आलोचनाको पात्र बनेका छन् रवीन्द्र मिश्र । उनी परिवर्तनका संवाहक बन्छन् कि भन्ने बहुसंख्यक नेपालीहरूका मनमा थियो । बिबिसीमा रहँदाको उनको छवि अहिले गर्ल्यामगुर्लुम ढलेको छ । शाख गुमेको छ । उनमा नराम्ररी विचलन आएको छ ।
धर्म मान्छेको आस्था हो । धर्मले असल पक्षको कामना गर्छ । मान्छेलाई अनुशासनको दायरामा राख्छ । धर्म सबै समान हुन्छन् । कुनै धर्मका धेरै अनुयायी होलान् कुनैका थोरै होलान् । मूल्यमान्यता र महत्त्वलाई लिएर यो धर्म ठुलो र ऊ धर्म सानो हुँदैन । हरेक मान्छे धार्मिक हुनुपर्छ तर धर्मभिरु हुनुहुँदैन । धर्मभिरुपनभित्र अतिवाद जन्मिन्छ र अतिवादले सामाजिक विकासमा वाधा हाल्छ । द्वन्द्व बढ्छ । हत्याहिंसाजस्ता अमानवीय गतिविधि नहोलान् भनेर भन्न सकिँदैन ।
नेपाल बहु जातीय, बहु भाषिक र बहु धार्मिक मुलुक हो । त्यसैले राज्य धर्मका मामलामा तटस्थ रहनुपर्छ । यसको अर्थ यो होइन कि सबै धर्महरूको धार्मिक मूल्यमान्यताको संरक्षण संबर्द्धन नगरोस् । कुरो यत्ति हो कि राज्यले कुनै पनि एउटा धर्मविशेषको पक्षपोषण गर्नुहुँदैन । राज्यका आँखामा सबै बराबर हुनुपर्छ । यो नै धर्मनिरपेक्षता हो ।
आफूलाई मन लागेको धर्मको अभ्यास गर्ने छुट सबैलाई छ । धार्मिक स्वतन्त्रता हाम्रो मौलिक अधिकार हो । निर्भयताका साथ स्वैच्छिक धर्मको अभ्यास गर्ने छुट हाम्रो संविधानले दिएको छ ।कसैले तँ यो धर्म नमान् तँ यो धर्म मान् भनेर करकाम गर्न पाउँदैन । आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने चाल पनि नचलेका छैनन् । कतिपय गरिब जनताहरूलाई यस्तैखाले प्रलोभनमा पारेर परिवर्तन गराइँदै छ भन्ने टिकाटिप्पणी हुनेगरेको छ । यस्तो अवस्थामा राज्य चुप लाग्नु हुँदैन । किनभने यसले नराम्रो विकृति ल्याउँछ । आफ्नो संस्कार संस्कृति र सभ्यतामा ठुलो आघात पर्नजान्छ । धार्मिक तथा सांस्कृतिक उत्थानमा जुटेका अभियन्ताहरूले करकापले धर्म परिवर्तन गराइँदै छ भन्ने लागेमा रोक्नुपर्छ ।
कुरो जनमत सङ्ग्रहको गरौँ । जनताको मत चुनावी प्रक्रियाबाट लिनु नै जनमत सङ्ग्रह हो । अहिले अस्थिरता चाहने सङ्घीयता विरोधीहरू कथित जनमत सङ्ग्रहको कुरो अलाप्दै छन् ! नेपाललाई हिन्दुराज्य बनाउन एकथरी कम्मर कसेर लागेका छन् । जनमत सङ्ग्रह गरेर नेपाललाई एकात्मक हिन्दुराज्य कायम गर्ने उनीहरूको दाउको कुनै अर्थ छैन । र, यो सम्भव पनि देखिँदैन । नेपाल भूगोलमा सानो भएता पनि जात, जाति, भाषा, धर्म, संस्कार र संस्कृतिमा विशाल छ
सङ्ख्यात्मकरूपमा हेर्दा मुलुकमा हिन्दुधर्मावलम्बीहरू कै वर्चस्व छ । लगभग 80% भन्दा माथि हिन्दुहरू नै छन् । ठुलो सङ्ख्या हिन्दूको छ भन्दैमा मुलुकलाई हिन्दु राज्य घोषणा गर्नु के जरुरी छ ? धर्म निरपेक्ष किन हटाउँनुपर्यो ? धर्म सापेक्ष हुँदा हिन्दु धर्मावलम्बीलाई के फाइदा हुन्छ ? हिन्दु राज्य बनाएर जैन धर्म, बौद्ध धर्म, इसाई धर्म किराँत धर्म र इस्लाम धर्म मान्ने मान्छेको मन दुखाउनु किन परेको छ ? लोकतन्त्रमा सबैको अधिकार बराबरी हुनुपर्छ । राज्यका नजरमा समानता हुनुपर्छ । यो समय भनेको विकास र समृद्धिका लागि बहस गर्ने समय हो । धर्मका कुरा झिकेर बखेडा निम्त्याउनु भनेको पश्चगमनको बाटो तय गर्नु हो । विकासका वाधकहरू यस्तै
अनर्गल कुरा उछालिरहेका छन् ।
नेपालमा धार्मिक सहिष्णुता छ । यहाँ अहिलेसम्म धर्मका नाउँमा धार्मिक सम्प्रदायका बिचमा झगडा भएको छैन । र, यो एकता र सद्भाव अक्षुण्ण राख्नुपर्छ । तर, कथित जनमत सङ्ग्रह गरेर हिन्दु राज्य नेपाल बनाउने हो भने हाम्रो धार्मिक सद्भाव खलबलिन पुग्छ । यसो भयो भने इतिहासले हामीलाई कहिल्यै माफ गर्ने छैन ।
कसै कसैले भन्छन् “हिन्दु धर्ममाथि चौतर्फी हमला भएको छ ।” यो कुरो गलत छ । हिन्दु धर्ममाथि केही पनि चुनौति छैन । मठमन्दिर, देवीद्यौराली,शक्तिपीठ, तीर्थस्थलहरूमा तीनवटै सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ। जताततै यज्ञ, महायज्ञ, ज्ञानमहायज्ञ, अनुष्ठान, पुराण, महापुराण भइरहेका छन् । हिन्दु धर्मको प्रचार प्रसारका लागि टेलिभिजन च्यानल खुलेका छन् । प्रवचनहरू भइरहेका छन् । यस्तो अवस्थामा कसरी हिन्दु धर्ममाथि आक्रमण भयो ! कसरी चुनौति थपियो ! पत्याउन नसकिने कुरा हो ।
झट्ट सुन्दा जनमत सङ्ग्रह प्रजातान्त्रिक लाग्न सक्छ । तर, सबै विषयमा जनमत सङ्ग्रह गर्न सकिँदैन । नेपालमा सङ्घीयता,गणतन्त्र र धर्म निरपेक्षताका विषयमा जनमत सङ्ग्रह गर्न सकिँदैन । यसो गरिएमा आत्मघाती हुने छ । हजारौँ नेपालीले चढाएको उच्च बलिदानीको घोर अपमान हुने छ । सङ्घीयता खारेज गरी राजतन्त्रको पुनर्बहालीको कुनै औचित्य छैन । त्यतातिर लाग्नेहरूको सपना `दिवास्वप्न´ साबित हुन्छ । इतिहासमा उनीहरू तेसै बिलाएर जानेछन् ।
यो समय धर्मको चर्चा गरेर बस्ने होइन । राज्य संरचनाका बारेमा छलफल गर्ने होइन । नियमित जुनावहरू आउँछन् जान्छन् । ती राज्यले सम्पन्न गरिहाल्छ । यतिखेर जनजीविकाका प्रश्नमाथि बहस गर्नुपर्छ । विकास र समृद्धि मुल मुद्दा बनिनुपर्छ । राष्ट्र, राष्ट्रिय एकता र स्वाधीनता हरेक दलहरूको मुल मुद्दा हुनुपर्छ ।
यस्ता महत्त्वपूर्ण कुरा छाडेर जनमत सङ्ग्रहका बारेमा तीन बित्ता उफ्रनु चाहिँ माथि भनिएको उखान जस्तै – काम छैन ब्वारी ……………………..भनेजस्तै…हो !
एस निरौला
थुदुगापा 3, पन्चन
सोलुखुम्बु ।

Facebook Comments Box