खिर

विचार/अन्तर्वार्ता

एस निरौला

(आदरणीय  मित्रगण ! मैले मेरा जिल्लाको( सोलुखुम्बु पन्चन) नेपाली भाषाको कथ्य रूपको नमुना प्रस्तुत गरेको छु ।तपाईँले बोल्ने गरेको नेपाली र सोलुखुम्बुतिर बोल्ने गरेको भाषिकाबिच फरक पाउनुहुनेछ:- )
नमस्ते सप्पैलाई !
आज खिर दिबस । साउन पन्द्र गते हो नि ! एक मैना अगि असार 15 गते थ्यो ! खाइया थ्यो तो दिन आँत तोडेर दैच्युरा । आँत तोड्नु भनेको बुझ्नु भो नि ? कस्सेर खानु भनेको । ढसढसी भुँडी चर्किउन्जेल हसुर्नु भनेको । कस्तो `खानैले मर्न आँटेको´ भन्नुहुँदो हो । सन्सारै खानैमा त छ । अनि म पनि खान्कीकै कुरा गर्छु । ऐले नि गर्दै छु । हो, यसरी केरा, च्युरा र दै मुछेर लपलप खाको पनि एन मैना बितेछ । समए जान कति बेर लाग्दो र र !
आज साउन पन्द्र खिर दिबस । खिर खाने दिन । दैच्युराले सित्तल पार्छ अरे अनि खिरले चैँ सर्दी भगाउँछ अरे ! बर्खामा रुझिने भिझिने भकाले आँतमा सर्दी घुसेको हुन्छ । सर्दी भगाउन ह्वारह्वार बाफ उड्दै गरेको तात्तातो खिर खाँदा सर्दी जान्छ भन्ने मान्नेता छ । भरिसक्के पसिना खलखली आओस् !
खिरलाई दुई किसिममा बाँड्न सकिन्छ । एउटा त खिर भै गो । अर्को चैँ ढकने हो । खिर अनि ढकने । खिरका रुप दुइटै हुन्छन् । जस्तो, पुन्युले पस्किने खिर र डाडुले पस्किने खिर !
तपाईं छक्क पर्नु भो – डाडुले पस्किने र पुन्युले पस्किने भनेको सुनेर । अर्को शब्दले बुझ्नुस्- खित्रो जस्तो लपक्क बग्ने खिर डाडुले पस्किने । सेलाको च्याँख्लाको भातका चोइली जस्ता भक्कना परेको पुन्युले पस्किने ! भक्काना क्या बाँझो जोत्ता उठेका डल्ला !
ढकने र खिर पकाउने तरिका फरक छन् । ढकने पकाउँदा पैले घ्युमा चामल भुट्नुपर्छ । रातोरातो हुन्जेल । तेसपछि दुद हाल्ने र पुन्युले चलाइरहने । मरिच, जाइदानाहरू पिँनेर हाल्ने । कति गुल्ल्यो खाने त्यै अन्सार चिनी हाल्ने । बास् ढकने तयार भो ! आलुका चानासाना भुट्ने । जाहान जम्मा हुने । पकापक खाने । तपाईँसित घ्यु छ र दुद थोरै छ भने ढकनेको सुरसार गर्नुस् ।
खिर पकाउन अप्ठ्यारो छैन । दुद बसाल्नुस । उम्लिन लागेपछि लामा खाल्का चामल सरर लाउनुस् । मन्द आँच पर्नुस् । फत्किन थालेपछि मरिच पिनेर धुलो हाल्नुस् । नरिओल काटेर मसिना मसिना टुक्रा पारेर हाल्नुस् । जाइदानासाइदाना ल्वाङ सुकुमेल हाल्नुस् । पुन्युले चलाइरहनुस् । खिर पाको । निकाल्नुस्। पस्किनुस् ।तात्तातो खानुस् । सर्दी भगाउनुस् ।
साथीहेरू मैले खिर पकाएँ । पस्केँ । दिएँ । हाम्रो सर्दी गयो । अर्कोचोटि तिजाँ ढकने फेरि पकाउँला । दिदीबैनी दर खान नआइछोड्दैनन् ।
खिर खाने पहिलो अधिकार तीसँगै धेर हुन्छ जस्ले गाई भुइँसी पाल्छन् । दुद किनेर पनि खिर खान नसकिने कुरा त होइन तर दुद किन्न्वालाई सर्दीले गाँजेकै हुँदैन । बर्खा भिज्नु परेकै हुँदैन । हिलो खेतबारीमा दलिनै पर्दैन । यसको अर्थ वाँहर्लाई असम्मान गरेको चैँ पटक्पै होइन ।
मुलुकमा हाल तीनओटा सर्खार छन् । संगिए भन्ने ठुलो सर्खार छ । तेसले देसैभरि हेर्छ । तेसपछि अर्को माइलो सर्खार छ पर्देस भन्ने । उस्ले आफ्ना अंसमा परेजति हेर्छ । अर्को कान्छो चैँ इस्थानिए सर्खार । यसले सानो छेत्र हेर्छ । अब यिनले किर्सकलाई उँभो उकास्न जेजे गर्नुपर्थो गरेका छइनन् । नेपाल किसानै किसान बसेको देस हो । किसानको औकात उठेको छैन ।
राज्जेको बितरन पर्नाली अबैग्यानिक छ । किसानले उत्पादन गरेको दुद बिक्री नभर बाटैभरि छताछुल्ल पोखेको टिबीमा देखिन्छ । कतै भने च्या खाने दुद नभर मिल्क(अ) होलिडे भन्ने धुलो दुदमा भर पर्नुपरेको छ । किसानलाई उँभो लाउने कार्येक्रम त देखिन्छन्, सुनिन्छन् तर ती पहुँचवालाले पैसा कता लान्छन् कता ! पर्धानमन्त्री किर्सी आधुनिकीकरन भन्ने परियोजना छ तर त्यस्ले सोजासिदा निमुखा जन्ताको हात पर्नै मुस्किल छ ।
इस्थानिए सर्खारलाई मेरो आग्र छ – गाउँपालिका भित्र दुद उत्पादन गर्ने कार्येक्रम ल्याउनु परो । परम्पागत रुपका गाइभुइँसी छन् । तिन्ले दुद धेर दिँदैनन् । ती विकासे होइनन् । बिकासे भुइँसी गाई पाल्न किर्सकलाई उकास्नु पर्छ । बजेट छुट्ट्यार मदेसबाटै भा पनि धेरै दुद दिने मुर्रा जातका भुइँसी र जर्सी जातका गाई झिकाउनु पर्छ । वडावडामा पर्जनन्का लागि सिङ घुमेका काला राँगा र जुरो स्वाल्यात्त परेका बहर झिकाउनुपर्छ । किसानलाई अनुदान दिनुपर्छ । किर्तिम पर्जनन् गराउने उपकरण र प्राविधिकको बेवस्था गराउन पहल गरिहाल्नुपर्छ । डालेघाँस र भुइँघाँसका नयाँनयाँ बिरुवा तथा बिउको बेवस्था गर्नुपर्छ । सर्खारमा बसेपछि जन्ताको भलो हुने काम गर्नुपर्छ ।
आज सबै किसानका घरमा खिर पाकेको छैन । गाईभुइँसी लैना हुनेका घरमा पनि खिर पकाउँने दुद काँ पुग्छ र !
यो मान्छेले पुन्युले पस्केको खिर हसुर्दै छ ।यसको भुइँसी त दुहुना छ तर दुद भने ब्यानबेल्काको मानाचारेक छ । गाईको एककान होला दुन झिझ्याट् लागेर बाछो छोडिदिन्छ ।
उहिल्यै देखिका पशुका सन्तानले मनग्गे दुद दिँदैनन् । केट्केटीलाई तर्‍याकतुरुक दिँदै सकिन्छ । बरु ठेकीमा तुर्क्यायो दिनतिनेकपछि मानाबारेक मोइ ता हुन्छ । सन्तलाका दानु जत्रो घ्यु पनि लाग्छ ।
मैले आज एति नै लेखेँ ।
खिर दिबसको सुबकामना !

Facebook Comments Box