व्यायाममा नृत्यको महत्व

मनोरन्जन मुख्य समाचार समाचार

केपी पौडेल

आजको विश्व अत्यन्तै परिवर्तनशील छ र यहाँका वस्तुहरु पनि त्यति नै परिवर्तनशील छन् । हरेक कुरामा परिवर्तन आए जस्तै आजभोलि व्यायाम गर्ने तरिकामा पनि परिवर्तन आएको पाइन्छ । केही वर्ष अघिसम्म पनि व्यायम भनेको खाली योगासन वा समाधि आदिलाई मानिन्थ्यो तर आजभोलि व्यायाम गर्नु भनेको नाच्नु हो भन्ने चलन बढ्दै गएको पाइन्छ ।

एकातिर नृत्यकला पनि सिकिने र अर्काेतर्फ हाम्रो शरीरको सम्पूर्ण अङ्ग प्रत्यङ्गको व्यायाम पनि हुने हुनाले यो चलन बढ्नुको प्रमुख कारण हो ।

आजभोलि टेलिभिजनका विभिन्न च्यानलहरुमा पनि व्यायाम गरेको दृश्य देखाउँदा नृत्य मुद्रालाई नै देखाएको पाइन्छ । रुसमा व्यायामको लागि नृत्य सिकाउने परम्परा विश्वमै अति लोकप्रिय छ । त्यहाँका क्याम्पसहरुमा पाठ्यक्रम बनाएरै नृत्यको शिक्षा दिन थालिएको छ। नाच्नको लागि चाहिने सम्पूर्ण सुविधाहरु जुटाएर प्रशिक्षण दिइन्छ ।

त्यसो त नेपालमा पनि क्याम्पसमा एम.ए.सम्म नृत्यको सैद्धान्तिक एवं व्यवहारी ज्ञान दिने गरिएको छ । केही वर्ष पहिलेको तुलनामा नेपालमा पनि विभिन्न नृत्य प्रशिक्षण केन्द्रहरु धमाधम खुलिरहेका छन् र नृत्यले हाम्रो समाजमा पनि छुट्टै विशिष्ट स्थान ओगट्न सफल भएको छ । कुनै पनि समाजको कला संस्कृतिको प्रचार प्रसार एवं संरक्षण गर्ने क्रममा यसको महत्वपूर्ण योगदान रहेको छ ।

आजको व्यावसायिक एवं प्रतिस्पर्धात्मक जमानामा नृत्यकला एक पन्थ दुइ काज मान्न थालिएको छ । व्यायामका लागि नाच्नेहरुको लागि सङ्गीत सुनाएर त्यसैको ताल र सुरमा उनीहरुलाई नृत्यको व्यायाम सिकाइन्छ । त्यसो गर्दा शरीरमा सम्पूर्ण अङ्ग प्रत्यङ्ग एवं उपाङ्गको व्यायाम हुन पुग्छ । नाच्न नचाहनेहरु पनि सङ्गीतको लहरसँगै दौडने, पौडिने र साइकल चलाउने हुनाले यस्तो व्यायामलाई अक्सिन दिने व्यायाम भनिन्छ । निचोडमा भन्नुपर्दा नाच्नु स्वास्थ्यका लागि अति नै लाभदायक छ । यसले हाम्रो शरीरलाई हानीभन्दा फाइदा नै फाइदा पु¥याउँछ र हामी हरक्षेत्रमा अगाडि बढ्न सक्छौँ ।

Facebook Comments Box