काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारी शीर्ष नेताहरुलाई बुझाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उक्त मस्यौदा बुझाइएको हो।
कार्यदलले बिहीबार बुझाएको मस्यौदालाई अब शीर्ष नेताहरुले अध्ययन गरेर अन्तिम टुंगो लगाउने छन्। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले साझा कार्यक्रमको मस्यौदामा तयार पारेको हो।
प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रिय हितको सम्बद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ।
सरकारको प्रमुख प्राथमिकता कोरोना रोकथाम र नियन्त्रण रहेको छ। प्रतिवेदनमा सो कुरालाई मुख्यरुपमा समेटिएको छ। गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ।
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ। कार्यदलमा कांग्रेस नेता मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
