खोटाङ, २७ साउन । बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले स्थानीय तह तथा कार्यालयहरुमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।
सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत शुरु गरेको छ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् । कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने कतिपयले मासिकरुपमा भुक्तानी लिने गरेका छन् ।
इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् । आफ्नो कार्यालयमा जडान गरिएको इन्टरनेट हप्ता दिनदेखि अवरुद्ध रहेको हलेसी न्यूज नेटवर्क प्रालि खोटाङका अध्यक्ष एवं पत्रकार हरिबोल आचार्यले बताउनुभयो । “हामीले वार्षिक रु २२ हजार तिरेर इन्टरनेट जडान गरेका थियौँ”, उहाँले भन्नुभयो, “पटक–पटक अवरुद्ध हुँदै आएको इन्टरनेट सेवा पछिल्लो समय आएर चल्नै छाडेको छ । यस विषयमा जानकारी लिन खोज्दा सम्बन्धित कम्पनीका मान्छेले फोनसमेत उठाउन छाडेका छन् ।”
जनताको सेवामा चुस्त, दुरुस्त र छिटोछरितो बनाउनका लागि जिल्लाका अधिकांश सरकारी कार्यालयमा इन्टरनेट सेवामार्फत चल्ने सिस्टम जडान गरिएका छन् तर, जिल्ला मालपोत कार्यालयले सिस्टमकै कारण देखाउँदै कतिपय सेवाग्राहीको काम हप्ता दिनसम्म अल्झाउने गरेको गुनासोसमेत आउने गरेको छ । मालपोत कार्यालयले भनेको समयमा काम नगर्दा तीन दिनसम्म पैदलयात्रा गरेर जग्गा पास तथा नामसारी गर्न दिक्तेल आएका दुर्गम क्षेत्रका सेवाग्राहीको खर्चसमेत दोब्बर हुने गरेको छ ।
जिल्लामा इन्टरनेट सेवा प्रदायक कम्पनी कतिवटा रहेका छन् भन्ने कसैसँग तथ्याङ्क छैन । कतिपय आफ्नो सेवा प्रभावकारी नभएपछि जिल्ला छाडेर हिँडिसकेका छन् भने कतिपय जेनतेन काम चलाउ सेवा दिँदै रकम असुल्ने काम गरिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी टेकमाइन्ड कम्पनीको इन्टरनेट जडान गरेका सेवाग्राही रहेका छन् । उसले हरेक स्थानीय तह तथा विद्यालयमा आफ्नो सेवा विस्तार गरेको छ ।
टेकमाइन्ड कम्पनीले २० एमबिपिएसका लागि रु १३ हजार ५००, २५ एमबिपिएसका लागि रु १५ हजार, ३५ एमबिपिएसका लागि रु १७ हजार २९० र ४५ एमबिपिएसका लागि रु १८ हजार ६४५ अग्रिम लिने गरेको छ । कूल ग्राहक सङ्ख्या एक हजार ६० रहेको जिल्लामा टेकमाइन्ड कम्पनीको इन्टरनेटमा कहिले पनि तोकिएअनुसारको स्पीड क्षमता नआएको सेवाग्राहीको गुनासो छ ।
आफूहरुको कम्पनीद्वारा वितरण गरिएका इन्टरनेट मौसमका कारण कहिलेकहीँ अवरुद्ध हुने गरेको कम्पनीका दिक्तेल शाखा प्रमुख रोशन रेग्मीले बताउनुभयो । “हामीले वितरण गरेको इन्टरनेट सेवालाई भरपर्दो र विश्वासिलो बनाउने प्रयत्न गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै सेवाग्राहीको समस्या तत्कालै समाधान गर्ने गरी ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा उपशाखा कार्यालय खोल्ने तयारी गरेका छौँ ।”
यता नेपाल टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट सेवा पनि प्रभावकारी नरहेको सेवाग्रहीले गुनासो गरेका छन् । जिल्लामा नेपाल टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट जडान गर्ने सेवाग्राही करीब ५०० रहेका छन् ।
टेलिकमले वितरण गरेको इन्टरनेट सेवामा पाँच एमबिपिएसको इन्टरनेट स्पीड रहेको बताइएको छ । जिल्लामा वितरण गरिएका इन्टरनेट सेवामा पछिल्लो समय कुनै पनि सेवाग्रहीबाट गुनासो नआएको टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र बलम्पाकी मगरले बताउनुभएको छ ।
टेलिकमबाट वितरण गरिएको एडिएसएलका ग्राहकले प्रति महिना रु ८००, अर्ध वार्षिकरुपमा रु चार हजार ३०० र वार्षिक आठ हजार तिर्ने गरेका छन् । तर, टेलिकमले दिएको इन्टरनेट सेवा राम्रोसँग नचल्दा जिल्लाका अधिकांश सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले अन्य कम्पनीको इन्टरनेटसमेत जडान गरेका छन् ।
जिल्लामा सञ्चालित वेवसरफर कम्युनिकेशन प्रालिको कूल ग्राहक सङ्ख्या ३०० को हाराहारी रहेको दिक्तेल शाखाले जनाएको छ । पाँच एमबिपिएस स्पीड क्षमता भएको उक्त संस्थाको इन्टरनेट सेवाका लागि सेवाग्राहीले प्रति वर्ष रु १२ हजार ५० मा जडान गरेर सेवा लिएका छन् ।
रेडियो लिङ्कबाट जिल्लामा जडान गरिएको वेबसरफरको इन्टरनेट बजार क्षेत्रमा फाइबरमार्फत विस्तार गरिएको छ । सो संस्थाको इन्टरनेट सेवा पछिल्लो केही दिनदेखि अवरुद्ध रहेको सेवाग्राहीले बताएका छन् । सेवाग्राहीको गुनासोको आधारमा रातको समयमा पनि प्राविधिक टोली खटाएर समस्याको समाधान गर्ने गरिएको दिक्तेल शाखा प्रमुख अजय बस्नेतले बताउनुभयो । “कहिलेकहीँ मौसमका कारण समस्या आउने गरेको छ”, उहाँले भन्नुभयो, “पटक–पटक आउने समस्याको दीर्घकालीन समाधान गर्न लागि परेका छौँ ।”
जिल्लामा २५० ग्राहक सङ्ख्या रहेको छिरेश्वर नेटवर्कको इन्टरनेटसमेत विस्तार गरिएको जनाइएको छ । सो संस्थाले १५ एमबिपिएसको मासिक रु एक हजार १३०, २० एमबिपिएसको रु एक हजार ५२० र ३५ एमबिपिएसभन्दा माथिको हेड अफिस (प्रधान कार्यालय)ले लिने गरेको दिक्तेल शाखा प्रमुख दीवाकर थापाले बताउनुभयो ।
जिल्लामा सञ्चालित इन्टरनेट सेवा प्रभावकारी नभएपछि अधिकांश सेवाग्राहीले मोबाइलको डाटाबाट काम गर्ने गरेका छन् । मोबाइलको डाटाबाट इन्टरनेटको काम गर्दा खर्च बढी हुने गरेको पत्रकारले बताएका छन् । टेलिकमले उपलब्ध गराएको नमस्ते मोबाइलको फोर–जी सिमकार्डको डाटाले समेत राम्रो काम नगरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सेवाग्राही सन्तोष पौडेलले बताउनुभयो । रातको समयमा टावर नआउने, आए पनि फोन गर्दा आफै काटिने तथा फोन लागे पनि नबुझिने समस्या रहेको जनाइएको छ ।
उता, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकामा समेत नेटवर्कमा समस्या रहेको सेवाग्रहीले बताएका छन् । विद्युत् भएको समयमा मात्रै नेटवर्क आउने तथा नेटवर्क भए पनि फोन नबुझिने समस्या रहेको खोटेहाङ गाउँपालिका–७ धनमुडाका स्थानीय बासिन्दा एवं सेवाग्राही राजन अधिकारीले बताउनुभयो ।
