नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति (आगामी भदौ १६ देखि १९ गतेसम्म) मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी गाउँ/नगर वडा अधिवेशन भदौ १८, गाउँ/नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
यस्तो छ कार्यतालिका
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिवेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३
प्रतिक्रिया दिनुहोस्
