सन्तोष खड्का
सौल, दक्षिण कोरिया
गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सदस्यको रूपमा तीन कार्यकाल उत्कृष्ठ काम गरिसकेका डा. देवी बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको १० औं महाधिवेशन अक्टोवरको तेस्रो साता हुँदैछ।
बस्नेतले सन् २००५ मा कोरियाको सनमुन विश्वविधालयबाट विद्यावारिधी गरेका थिए। ब्याक्टेरियाको जीन इन्जिनियरिङमार्फत औषधी बनाउने सम्बन्धमा एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सोध पत्र प्रकाशन गरिसकेका बस्नेत विगत १५ वर्षदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। दक्षिण कोरियाको संस्थापक उपसभापति हुँदै महासचिव तथा तीन कार्यकाल संरक्षकको भूमिका निर्वाह गर्दा उनले नौला तथा रचनात्मक कामको सुरुवात गरेका थिए।
उनको सक्रियतामा बुद्ध नेपाल अभियान, पहिलो पटक अनलाइन भोटिङको थालनी भएको थियो। डा. बस्नेतले आफ्नो व्यक्तिगत सक्रियतामा कोरियामा रहेका नेपाली कामदारका लागि काउन्सिलिङ सञ्चालनमा ल्याएका थिए। उनले यसका लागि सन् २०१३ देखि कोरियाको विभिन्न ठाउँमा घुम्ति सेवा समेत सञ्चालन गरेका थिए।
डा. बस्नेत एनआरएनए एसिया प्यासिफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक पनि थिए। कोभिड–१९ को संकटमा कोरियाबाट अतिआवश्यक सामाग्री नेपाल पठाउन उनको महत्वपूर्ण योगदान रहेको थियो। ‘संघमा बसेर लामो समय काम गरेको अनुभव भएकोले यसपाली सचिव पदमा उम्मेदवारी दिन लागेको उनले बताए।