दमौली, २० कात्तिक (रासस) ः तनहुँको बन्दिपुर गाउँपालिका–१ बानियाँटारका धनबहादुर रानाले सरकारी जागिरको अवकाशपछि कागती खेती शुरु गर्नुभएको छ । पैतिस वर्ष सरकारी सेवामा बिताउनुभएका रानाले उपसचिव पदबाट अवकाश लिएपछि कागती खेती शुरु गर्नुभएको हो ।
उहाँले २१ रोपनी क्षेत्रफलमा आठ सय कागतीका बिरुवा लगाउनुभएको छ । कृषि ज्ञान केन्द्र तनहुँले उक्त बिरुवा निःशुल्क उपलब्ध गराएको हो । ज्ञान केन्द्रको प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत कागती खेती शुरु गरेको रानाले बताउनुभयो । “व्यावसायिक रुपमा कागती उत्पादन गर्ने उद्देश्य लिएर कागती खेती शुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “कागतीका बिरुवा रोपेको एक वर्ष भयो ।”
सुन्तला खेतीभन्दा कागती खेती गर्न परिश्रम बढी लाग्ने उहाँको भनाइ छ । “सुन्तला खेतीका लागि वर्षमा एक पटक परिश्रम गरे हुन्छ, तर कागतीलाई महिनाको एकचोटी विषादी हाल्नैपर्छ”, उहाँले भन्नुभयो । कागती खेतीमा क्याङ्कर रोगको समस्या बढी हुने भएकाले महिनाको एकपटक विषादी हाल्नैपर्ने उहाँको अनुभव छ । “रोग लागेपनि नलागेपनि सुरक्षाका लागि महिनाको एकपटक विषादी हाल्नैपर्छ”, उहाँले भन्नुभयो ।
रानाले कागती खेतीका लागि मलचिङ प्रविधि प्रयोग गर्नुभएको छ । मलचिङ गरेपछि चिस्यानबाट संरक्षण गर्ने, कम मल प्रयोग गरे हुने र बिरुवा राम्रो हुने उहाँको भनाइ छ । “मलचिङ गरेपछि पानीको संरक्षण, झार आउन नदिने, मलको काम गर्ने र विषादीको पनि काम गर्ने भएकाले यसको फाइदा छ”, उहाँले भन्नुभयो । कागती खेतीका लागि मलचिङ गर्न उहाँले सुझाव दिनुभयो ।
कागती खेतीका लागि सुख्खा मौसममा फागुनदेखि जेठसम्म १५÷१५ दिनमा अनिवार्य पानी हाल्नुपर्छ । “मैले कागती खेतीका लागि थोपा सिंचाई पनि प्रयोग गरेको छु, यसले कागती खेतीका लागि सहयोग पुगेको छ”, रानाले भन्नुभयो, “पहाडी भेगमा कागती खेती गर्दा थोपा सिंचाई अति उपयोगी हुन्छ ।” पानीको सुविधा, मलको उचित व्यवस्थापन र स्याहारसम्भार गर्न सके पहाडी भेगका जुनसुकै ठाउँमा पनि कागती खेती गर्न सकिने रानाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस ठाउँको कागती खेतीलाई तनहुँकै नमूनाको रुपमा विकास गर्न लागिएको बताउनुभयो । “गत वर्ष यस ठाउँमा थोपा सिंचाई प्रविधि प्रदर्शन र सुन्तलाका जात प्रदर्शन गरेका थियौ, कागतीको नमूना फार्म बनाउन पनि सहयोग ग¥यौ,” उहाँले भन्नुभयो । नमूना कागती फार्म भएकाले कागती खेती गर्नेले एकपटक यस ठाउँको अवलोकन गर्न प्रमुख तिवारीले सुझाव दिनुभयो । “यो ठाउँ हेरेपछि कागती खेती कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ”, उहाँले भन्नुभयो ।
नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु
तनहुँको दमौलीमा रु दश करोडको लागतमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा अस्पताल भवन निर्माण शुरु भएको हो ।
गुणस्तरीय पशु चिकित्सक सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण थालिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवाहरु प्रदान गरिनेछ”, उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षमा भवन निर्माणका लागि करिब रु पाँच करोड बजेट विनियोजन भएको छ । भवनको लागत रु दश करोड रहेपनि यस वर्ष रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को काम हुनेछ । त्यसका लागि चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार १८ महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ ।
६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । “पशुपंक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गर्छौ”, उहाँले भन्नुभयो, “अस्पताल भवन निर्माणसम्पन्न सँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउनेछन् ।” अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशाला लगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । “अहिले पनि पशुपंक्षीको उपचार भइरहेको छ, तर यो अस्पताल बनेपछि विशिष्ट सेवा प्रदान हुनेछ”, डा. श्रेष्ठले भन्नुभयो ।
तनहुँमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा सुविधासम्पन्न अस्पतालको खाँचो औंल्याइएको थियो । भेटेरीनरी अस्पताल निर्माण सुरु भएसँगै पशुपालक कृषक पनि हर्षित भएका छन् । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनिसकेको छ । “जिल्लामा दूध, मासु र अण्डाको जति माग छ, त्यो भन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ”, डा. श्रेष्ठले भन्नुभयो ।
जिल्लामा मागभन्दा २१ हजार २ सय ६२ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । जिल्लामा २९ हजार ४ सय १९ मेट्रिक टन दूधको माग रहेको तथ्याँङ्क छ । त्यस्तै चार हजार ५ सय २६ मेट्रिक टन मासुको माग रहेकोमा जिल्लामा एक सय ६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । यसैगरी जिल्लामा एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग रहेकोमा ७ लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।
केन्द्रले युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण, तालिम प्रदान र प्राविधिक सहयोग गर्ने लगायतका काम गर्दै आइरहेको छ ।