तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २१ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण गरिएको छ । ‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ नाराका साथ स्थापित सो संस्थाको पोखरामा सम्पन्न वार्षिकोत्सवमा पार्वता तमु स्मृति पुरस्कारबाट कलाकार चलचित्रकर्मी ओमप्रकाश गुरुङलाई सम्मान गरिएको छ । पुरस्कारको राशि रु १० हजार नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
तमु भाषा र साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका लमजुङका आसबहादुर गुरुङलाई घनबहादुर तमु स्मृति पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कारको राशि नगद २० हजार रहेको छ । गीत–सङ्गीत क्षेत्रमा योगदान पु¥याउनुभएका सङ्गीतकार सुनिल थापा १० हजार नगद रहेको क्याप्टेन मीनबहादुर तमु स्मृति पुरस्कार तथा गण्डकी प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य प्राज्ञ सुरेन्द्र गुरुङ, प्रज्ञा सभा सदस्य जसु गुरुङलाई सम्मान गरिएको छ ।
त्यसैगरी एसइइमा चार जिपिए प्राप्त गर्ने कृष्टिना गुरुङ र प्रज्वल गुरुङलाई जनही रु १०–१० हजार नगदसहित सम्मानपत्रले सम्मान गरियो । कार्यक्रममा गरिब तथा जेहेन्दार तमु विद्यार्थी छात्रवृत्ति अक्षयकोषका लागि रु १८ लाख ७५ हजार हस्तान्तरण गरियो । प्रत्येक वर्ष १५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने गरी तमु धिं युकेको पहलमा सङ्कलित उक्त रकम युकेका अध्यक्ष हितकाजी गुरुङले प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
वार्षिकोत्सव समारोहको उद्घाटन एवं सम्मानित व्यक्तित्वलाई सम्मान गर्दै तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङले अक्षयकोषको रकमले दुरदराजमा रहेका गुरुङ समुदायका विद्यार्थीको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार चिजकाजी गुरुङ, गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, सङ्गीतकार एकेन्द्र गुरुङ, साहारा युकेका नवीन गुरुङ, सम्मानित स्रष्टा आसबहादुर गुरुङ, विद्यार्थी प्रज्वल गुरुङ, विद्यार्थी हसिला गुरुङलगायतले संस्थाले सांस्कृति एवं शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीको संस्था तमु विद्यार्थी समितिका कलाकारले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
