‘देशको स्रोत प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्ने’

राजनीति समाचार

काठमाडौँ, ३ पुस । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले देशमा भएको स्रोत तथा साधनको प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सफा सुनौलो नेपालको आयोजनामा आज यहाँ आयोजित सिलाइ, कटाइ तथा बुनाइ तालीम समापन कार्यक्रममा बोल्दै उहाँले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सिप तालिमले मद्दत गर्ने बताउनुभयो । उहाँले देशमा नै रोजगारीको सृर्जना गर्नु वर्तमान सरकारको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक विकासलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चीनिया राजदूतावासका कन्सुलर ज्याङ् प्याङ्ले महिलाले चाहे देश बदल्ने बताउनुभयो । उहाँले तालीमले महिलालाई आर्थिक रुपले सवल भई अघि बढ्न सहयोग पुगेको उल्लेख गर्नुभयो । उहाँले नेपाली महिलालाई जनस्तरबाटै सवल बनाउन चीन सरकार लागि परेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा प्राविधिक तथा विभिन्न प्रकारका तालीमको आयोजना बढाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तालीममा ५६ महिला सहभागी रहेका थिए । सो तालीममा सहभागीलाई सिलाइ यन्त्र र ऊनको धागो प्रदान गरिएको थियो ।

Facebook Comments Box