भक्तपुर, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज यहाँ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवास पुग्नुभएको थियो । सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरीकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित आज राति ८ः ५० बजे बालकोट पुग्नुभएको थियो ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरुलाई बताउनुभयो । शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक छ, त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसद्बाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनःबैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।