प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उहाँले बताउनुभयो ।
बिहान ३ बजे नै पशुपतिका चार ढोका खुल्ने
महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले राससलाई जानकारी दिनुभयो ।
यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
महाशिवरात्रि पर्वमा ‘जलधारी’ गरिँदै
मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ । पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध, जौँ, बेलपत्र र धतुरो चढाएर ‘जलधारी’ गर्दैछन् । भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो । त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल परम्परा छ ।
पर्वका अवसरमा महोत्तरीको अति प्राचीन जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा मध्यरातयता दर्शनार्थी भक्तजनको अपार भीड देखिँदो छ । बितेका पछिल्ला दुई वर्ष कोरोना महाव्याधिको जगजगीले महाशिवरात्रि पर्व पनि प्रभावित भएको थियो । तेस्रो वर्ष पर्व मनाइरहँदा आम श्रद्धालुले महाव्याधि कष्ट निवारण गर्न भगवान् शिवको पुकारा गरेका सुनिन्छ ।
श्री जलेश्वरनाथ अनादिकालमा भगवान शिव आफैँले प्रतिस्थापित गर्नुभएको महालिङ्ग भएको शिव पुराणमा वर्णन छ । त्यसैगरी जिल्लाकै बर्दिवास–५ स्थित चुरे पर्वत काछको श्री टुटेश्वरनाथ मन्दिरमा हजारौँ श्रद्धालु मन्दिर परिसरमा ‘जयशम्भो’ भन्दै जलधारा गर्न आफ्नो पालो पर्खेर पङ्क्तिबद्ध छन् । पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमीटर सघन वनक्षेत्र पैदलयात्रा गरेपछि पुगिने चुरे पहाडी शृङ्खलाअवस्थित टुटेश्वरनाथ मन्दिरमा वर्षेनी लाखौँ दर्शनार्थी धार्मिक प्रयोजनले पुग्ने गरेका बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउनुहुन्छ ।
यस्तै भङ्गाहा–५ सिद्धपुरस्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्री मङ्गलनाथ र जिल्लाका २० भन्दा बढी शिवालयमा ‘जलधारी’ गर्नेहरूको घुइँचो छ । महाशिवरात्रि पर्वसँगै जोडिएर मिथिलामा मिथिला माध्यमिकी परिक्रमा र लगत्तै सँगसँगै फागु (होली) पर्व मनाइने परम्परा हुँदा महाशिवरात्रिलाई धार्मिक र सांस्कृतिक उत्सवको प्रारम्भका रूपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।
पर्वका अवसरमा श्रद्धालुले चढाउने पूजा सामग्रीको महाशिवरात्रि मेलामा राम्रो व्यापार चलेको छ । फूल, बेलपत्र, जौँ र धतुराको फूल र फल बेचेर नै आज सामान्य गरिबले मनग्गे आम्दानी गरेका छन् । त्यसैगरी भाकलमा भाण्टाको भार चढाउने मैथिल परम्परा छ । यो भाकलसँग जोडेर पर्वमा भाण्टाको भारको बिक्री पनि निकै देखिन्छ । मिथिलामा महाशिवरात्रिका दिन शिवलिङ्गमा ‘जलधारी’ गरेर उपवास बस्ने परम्परा छ । महाशिवरात्रिको उपवासले इच्छित फल प्राप्त हुने र मृत्युपछि कैलाशवास हुने विश्वास गरिन्छ ।