देशभरका निर्माण ठेकेदारहरू यतिबेला छाता संस्था निर्माण व्यवसायी महासंघ (एफक्यान)का लागि भावी नेतृत्व खोजीमा लागेका छन् । ३ वर्षसम्म महासंघ हाँक्ने नेतृत्व चयन हुने चुनाव नजिकिँदै गर्दा व्यवसायीहरू दुई कित्तामा बाँडिएर आफूअनुकूल पदाधिकारी चुन्न प्रतिष्पर्धामा छन् ।
यतिबेला सिङ्गो महासंघ संरचना फागुन २८ गते (शनिबार) हुने निर्वाचनमा होमिएको हो । भावी नेतृत्वको दौडमा महासंघका वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे दौडमा छन् । यी दुईबाहेक अन्य निर्माण व्यवसायीहरू हुमनाथ कोइराला, रमेश शर्मा र रामशरण देउजा पनि महासंघको भावी अध्यक्षका आकांक्षी हुन् । यद्यपी, उनीहरू अहिलेसम्म खुलिसकेका छैनन् । सोहीकारण, अहिले अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच नै भावी नेतृत्वका लागि मूख्य भिडन्त हुने देखिएको छ ।
वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक हुन । यस्तै, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका निर्देशक र बेदांशी इन्फ्रास्ट्रक्चर कम्पनीका प्रबन्ध निर्देशक समेत हुन् ।
५९ सदस्यीय कार्यसमिति चुनिँदै
महासंघको निर्वाचनले आगामी तीन वर्षका लागि ५९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । निर्वाचनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष र एक महासचिव नेतृत्वमा आउनेछन् । यसैगरी, दुई उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षसहित ४६ जना कार्यसमितिमा निर्वाचित हुने छन् । यी कार्यसमिति चयन गर्न देशभरका करिब ११ सय निर्माण व्यवसायी प्रज्ञा प्रतिष्ठानमा जम्मा हुनेछन् ।
