राप्तीमा गठबन्धनका उम्मेदवार विजयी

राजनीति समाचार

पूर्वी चितवनको राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । नगरप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका शमशेर लामाले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई ४७३ मतले पराजित गर्नुभएको हो । लामाले १२ हजार ५२४ मत प्राप्त गर्दा कँडेलले १२ हजार ५१ मत प्राप्त गर्नुभयो ।

यस्तै राप्रपाका मनोज अधिकारीले ८३२ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले नेकपा एमालेका मेनुका पाठकलाई २३४ मत अन्तरले पराजित गर्नुभएको छ । लामाले १२ हजार ६८२ मत प्राप्त गर्दा पाठकले १२ हजार ४४८ मत प्राप्त गर्नुभएको हो ।

यस्तै राप्रपाकी मीराकुमारी बर्तौलाले ९५४ मत प्राप्त गर्नुभयो । यस पालिकाका वडा नं १, २, ३, ४, ५, ६, ८ र ९ मा नेकपा एमाले, १० मा नेकपा समाजवादी, १२ र १३ मा नेपाली कांग्रेस एवं ७ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ ।

यस पालिकामा २९ हजार ७३७ मत खसेको थियो । यससँगै जिल्लाका ६ पालिकाको मतगणना सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।