नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी दोलखाका पूर्वसभापति एवं ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य माधवमणि राजभण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ७५ वर्षीय राजभण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । “कांग्रेस दोलखाका पूर्वसभापति एवं मेरा मित्र राजभण्डारीको निधनको खबरले मलाई अत्यन्त दुखित र स्तब्ध बनाएको छ, मृतक आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु”, सभापति देउवाले भन्नुभएको छ ।
कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पु¥याउनुभएको सक्रिय योगदानको पार्टीले उच्च मूल्याङ्कन गरेको कांग्रेसले जनाएको छ । राजभण्डारीको आज काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व राजभण्डारी पार्टीको १०औँ महाधिवेशनमा दोलखा जिल्लाको पार्टी सभापति बन्नुका साथै विसं २०५१ को मध्यावधि निर्वाचनमा पार्टीको तर्फबाट दोलखा जिल्ला निर्वाचन क्षेत्र नं २ को उम्मेदवार हुनुहुन्थ्यो ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक हिरासत बेहोर्नुभएका राजभण्डारीको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।