प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका सिस ४९ पदिक तथा हुद्दा अधिकृतहरूलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित सिस ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा उहाँले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।
कार्यक्रममा नेपाली सेनाको छविलाई सदैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उहाँले सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थसमेत काम गर्दै आएको चर्चा गर्नुभयो । जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ भन्दै उहाँले पुर्खाहरूको देनले नै नेपाली सेना सङ्गठन स्थापित भएको र यो संस्था व्यावसायिक एवं मर्यादित संस्था भएको बताउनुभयो ।
प्रधानसेनापति शर्माले भन्नुभयो, “मनमस्तिष्कबाट मुलुक र सङ्गठनप्रति समर्पण भाव राखी काम गर्नु, सङ्गठनको छविलाई सधैँ उँचो बनाइराख्नु, संविधानले दिएको जिम्मेवारीसहित सेनाले विपद्, मुलुकको सङ्कटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधँै बफादार छ ।”
विसं २०७८ भदौ १० गते सुरु भएको तालिमको समापनमा तालिम अवधिमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उहाँले पुरस्कार प्रदान गर्नुभएको थियो । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट हुनुभएको थियो । तालिम सेनाका नयाँ अधिकृतहरूले प्रदर्शन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरीक्षण गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजङ्ग थापाले विसं २०४३ मा प्रतिष्ठानको स्थापना भएको र २०६६ सालदेखि नेपाली सैनिक प्रतिष्ठान भएको बताउनुभयो । उहाँले २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि अधिकृत तालिम दिन सुरु भएको भन्दै अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको पनि बताउनुभयो ।