काठमाडौं । नेपालका सबै ठाउँ राम्रा छन्, घुम्न लायकका छन् । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित सौराह चितवन राष्ट्रिय निकुञ्जभित्र पर्दछ । नेपालको पोखरापछि अहिले चितवनको सौराहा घुम्नलायक छ । चितवनको सौराहामा जंगल सफारी, डुंगा सयर, थारु संस्
कृति, हात्ति, गैंडा, बाघ, जरायो, मृग, मयूरलगायतका जनावर तथा पंक्षीहरुलाई प्रत्यक्ष आफ्नै आँखाले अवलोकन गर्न पाइने हुँदा चितवनको सौराहा एकपल्ट घुम्नै पर्ने ठाउँ देखिन्छ । त्यसो त सौराहामा फराकिलो क्षेत्रमा रहेका होटल, राप्ती नदीको किनार, हात्ति चोक, गैंडा चोकलगायतका सफा, सुन्दर, हरियाली सौराहाले कसको मन नरमाउला र ? त्यसैले त विश्वभरिका पर्यटकहरु नेपाल आएपछि उनीहरुको पहिलो गन्तव्य सौराहा हुन आउने छ । अहिले सौराहा विदेशी पर्यटकहरु मात्र नभई स्वदेशी पर्यटकहरु पनि आफ्नो छुट्टी मनाउन सौराहा पुगेको पाइयो । आरमदायी ट्राभल्सका बस सेवा, सौराहाका होटलहरुबाट पाइने माया ममता, स्थानीय थारु समुदायबाट गरिने सत्कार, स्थानीय पर्यटन व्यवसायीहरुबाट गरिने सत्कार, स्थानीय थारु समुदायबाट निर्मित पुराना कल्चरका सामाग्रीहरुले पनि एक पटक सौराहा पुगेपछि पुनः सौराहा जान सबैलाई इच्छा लाग्ने गरेको पाइन्छ । प्राकृतिक रुपमै आफै सुन्दर सौराहाले दिनप्रतिदिन स्वदेशी तथा विदेशी पर्यटकहरुलाई भित्र्याई नेपालको पहिचान दिन पनि सौराहा सफल भएको पाइन्छ ।
यतिखेर पर्यटकीय गन्तव्य सौराहा अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक यतिखेर सौराहामा रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौं, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक न
याँ वर्ष मनाउन सौराहा गएका हुन् । पर्यटकहरुलाई मनोरञ्जन दिनका लागि विभिन्न सांगीतिक कार्यक्रमहरु, बार विक्यूको आयोजना समेत पर्यटन व्यवसायी तथा होटेल व्यासायीहरुले गरेको देखियो । रेन्बो सफारी रिर्सोटका सञ्चालक रमेश दाहालका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा होटल पूरै बुकिङ रहेको छ । ठूला अधिकांश होटल पुरै बुकिङ भएको उनले बताए । सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेन्बो सफारीका सञ्चालक रमेश दाहालले बताए । राप्ती किनार पर्यटकले भरिभराउ भएको यस काभ्रेपोष्ट साप्ताहिकका सम्पादक विष्णु चौलागाईं÷अध्यक्ष राधिका चौलागाईले आफ्नै आँखाले देख्न पाइयो । निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीहरुले काभ्रेपोष्टलाई बताए । सौराहामा मात्र सानाठूला गरी ११० होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक दुई हजार पाँच सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेष्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छन् । वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङे गैंडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् ।
