कामदार दैनिक
सौल/ दक्षिण कोरिया।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको असन्तुष्ट पक्षले कोरियाको राजधानी सौलमा विपी स्मृति दिवस मनाएको छ।नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका असन्तुष्ट पक्षले सौलमा एक विशेष भेलाका बिच प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ४० औँ स्मृति दिवस मनाएको हो।
केही समय अघि संस्थापन पक्षले एकलौटी ढंगबाट विधान अधिवेशन गरेर अवैधानिक ढंगबाट पास गरेकोप्रति विरोध गर्दै हिजो सौलमा बृहत भेलाको आयोजना गरिएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री मित्र बन्धु काफ्लेले बताए।
पछिल्लो समय संस्थापन पक्षले अवैधानिक ढंगबाट विधान अधिवेशन पास गरेको, कार्य समितिकै आधा पदाधिकारी, केन्द्रीय सदस्य, क्षेत्रीय सभापतिहरुलाई वेवास्ता गर्दै संगठनलाई केही मानिसको स्वार्थमा चलाउने प्रयास गरेको , तानाशाही ढंगले निर्णय लाद्न खोजेकोले बृह्त भेला आयोजना गर्नपरेको असन्तुष्ट पक्षधरको जिकिर रह्को छ।
भेलामा जनसम्पर्क समितिका पदाधिकारी, पूर्व सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, कार्य समिति, जनसम्पर्कका महाधिवेशन प्रतिनिधि ,कृयाशिल सदस्यहरु लगायत सबै क्षेत्रको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै उप सभापति जीतेन्द्रसिंह महताले संगठन सबैको अपनत्व हुने गरि सहमतिय ढंगबाट चल्नु पर्ने बताए । उनले कृयाशिल सदस्यता ५०० भन्दा बढी र रकम १५ लाख ने.रु. नेपाल नपठाएर हामीले नै राखेको भए कसरी ७ जना महाधिवेशन प्रतिनिधिहरुले पार्टी महाधिवेशनमा पाउथ्यो ? भन्दै प्रति प्रश्न गरेका छन्। जनसम्पर्क समितिको कुनै पनि देशको कृयाशिल सदस्यता नामावली पार्टीले वेबसाईटमा नराख्ने गरेको र कृयाशिल सदस्यता प्रमाणपत्र पार्टीले ढिलो पठाउने गरेकोले आउने वित्तिकै सबैलाई जानकारी हुने बताए । संस्थापन पक्षधरले सामाजिक संजालको दुरुपयोग गरि लगाएका गलत तथ्यहीन आरोपको खण्डन गर्दै यसले संगठनको भलो नहुने बताए । भेलामा निवर्तमान प्रवक्ता सिताराम तिमिल्सिनाले राजनीतिक मुद्दालाई आर्थिकसंग जोडेर आफू पक्षीय साथीहरूको सभापतिका नजिककाबाट मानमर्दन गर्ने कार्य गलत भईरहेको बताए। त्यस्तै भेलामा सबैलाई स्वागत गर्दै सह महामन्त्री फर्शुराम पौडेलले अवैधानिक र निरंकुश कदमलाई ढाकछोप गर्न अरुलाई आरोप लगाउने काम तत्काल सच्याएर र संगठनलाई एक बनाएर लान भेलाको सालिन उपस्थितिले स्पष्ट सन्देश दिएको बताए।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा जन सम्पर्क समिति कोरियाका पूर्व सभापति गिरिराज कुँवरले भेलालाई सम्बोधन गर्दै संगठनलाई अझ मजबुत र सबैको जन सम्पर्क समिति बनाउन भेलाको आयोजना गरिएको बताउदै सभापतिलाई सहमतिको मर्म र भावना अनुसार चल्न आग्रह गर्दै आफू अरुलाई गाली र आक्षेप लगाउने पक्षमा नभएको बताउदै केही संगठनमा एकता नचाहनेहरुको निहित स्वार्थ र सल्लाहमा सभापति चलेकोले अहिले यो अवस्था आएको बताए। उनले व्यक्तिगत रुपमा सभापति प्रति कुनै गुनासो नरहेको तर अरु कसैको निहित स्वार्थमा प्रयोग हुँदा संगठनमा ठूलो समस्या आएको बताए।
त्यसैगरी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कुमार थापाले विधान अधिविशन तत्काल खारेज गरेर सहमति र सहकार्यको मर्मलाई आत्मसाथ गरेर अगाडी बढ्न अपिल गर्दै सभापतिले तत्काल संवाद गरेर अगाडी बढ्न पहल गर्नु पर्नेमा फेसबुकमा अरुको मानमर्दन गरेकोप्रति चिन्ता जाहेर गर्दै संगठनले ठीक स्कुलिङ गर्नु पर्ने बताए । उनले भेलाको सभागीहरुको संख्याले स्पष्ट सन्देश दिएको बताउदै नजर अन्दाज गरे दुर्घटना हुने चेतावनी दिए।
भेलामा बोल्दै अन्य वक्ताहरुले पनि संगठनलाई एक बनाउन सभापतिले ढिलो गरे आफूहरु थप कडा कदम चाल्न बाध्य हुने भन्दै तत्काल अवैधानिक विधान अधिवेशन खारेज गर्न माग गरेका थिए।
उनीहरुले सभापतिले केन्द्रीय कार्य समितिमा अवैधानिक ढंगले बढी संख्या मनोनीत गरेको दाबी गरे। निर्वाचित कार्य समिति २२ जनाको २०% मात्रै सभापतिले मनोनीत गर्ने अधिकार हो त्यो भनेको ५ जनामात्रै सदस्य उनले मनोनीत गर्न पाउछन तर अहिले कुनै विधान नटेकी ९ जना मनोमित गरेको र यो अधिकार सभापतिलाई नरहेको बताउदैं उनले मनोनीत गरेको संख्या पूर्णरुपले अवैधानिक भएको बक्ताहरुको भनाई रहेको थियो।
उक्त भेलामा महामन्त्री मित्रबन्धु काफ्ले, अशोक मैनाली, सिताराम तिमिल्सिना, खेमराज देवकोटा, छानु चन्द,चन्द्र कुमार राई,दिपक विश्वकर्मा, रामकुमार गौतम लगायतले आ आफ्ना धारणा राखेका थिए।
उक्त भेलाले संवाद समिति समेत निर्माण गर्दै सभापति भजिन्द्र क्षेत्रीसंग २१ दिनभित्र वार्ता गरेर सामुहिक एजेन्डामा सहमति गर्न म्याण्डेट दिएको छ। जीतेन्द्र महताको संयोजकत्वमा गठन भएको समितिमा अशोक मैनाली , खेम राज देवकोटा , तुलश गुरुङ , सिताराम तिमल्सिना , हेमन्त शाह, राम कुमार गौतम सदस्य रहेका छन्।
तर जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापन पक्षले बिधान अधिवेसन बैधानिक रुपमा सम्पन्न भएको बताउदैं जनसम्पर्क समितिको तत्काल कुनै पनि भेला, गोष्ठी वा सार्वजनिक कार्यक्रमहरू तय नभएको र यसमा संगठनको गम्भिर ध्यानाकर्षण भएको सुचना जारी गरेको थियो।