गिरीको स्मृतिमा नेविसङ्घद्वारा दीप प्रज्वलन

मुख्य समाचार राजनीति

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा आज साँझ शान्ति बाटिकामा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गिरीको निधनले कांग्रेसलाई मात्र नभई सिङ्गो दशेलाई क्षति पुगेको बताउनुभयो । “समाजवादी चिन्तनलाई विचारधारा दिने गिरी बिपी कोइरालापछि माक्र्सवादी, प्रजातान्त्रिक समाजवादी विचारधाराको व्याख्या गर्नसक्ने व्यक्ति हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले गिरीले देखाएको समाजवादी बाटोमा नेविसङ्घलाई हिँडाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेविसङ्घ केन्द्रसहित, प्रदेश, जिल्ला, विश्वविद्यालय तथा क्याम्पस समितिले आज गिरीको स्मृतिमा विभिन्न कार्यक्रम तथा दीप प्रज्वलन कार्यक्रम गरेका छन् ।