मेघनाथ पौडेल
सेप्टेम्बर ७, २०२२
नेजाङसान, दक्षिण कोरिया ।
‘विश्व एउटा फूल जस्तै’ भन्ने श्लोगान सहित दक्षिण कोरियाको जङ्गअप शहर स्थित नेजाङ्सान वाटरपार्कमा आयोजना गरिएको अन्तर्रास्ट्रिय सांस्कृतिक प्रतियोगीतामा नेपालले दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
युनेस्को (UNESCO) को २१ औँ वार्षिकोत्सवको अवसर पारेर नेजाङ्गसा जिक्जिसिम्छे मेमोरियल एसोसिएसनको आयोजना र कोरियन बौद्ध संघको सहयोगमा सम्पन्न गरिएको उक्त प्रतियोगितामा १८ भन्दा बढी देशहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सबै देशका प्रस्तुतिहरुले आफ्नै पृथक बिशेषताहरु बोकेको भएतापनि प्रस्तुति, शैली र सृजनशिलतालाई आधार मानेर मुल्यांकन गरिएकोमा नेपालले दोश्रो स्थान ओगटेको हो, जसमा श्रीलंकाले प्रथम स्थान हासिल गरको छ ।
कोरिया स्थित नेपाली विद्यार्थी समाज (SONSIK/सोन्सिक) ले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिएको थियो । सोन्सिक कार्यसमितिका सभापति मनिष पाण्डेले नेपाली कला र संस्कृति झल्किने गरि उत्कृष्ट प्रस्तुति दिएर नेपाली कलाकारहरुले निर्णायक तथा दर्शकहरुको मन जितेकोमा खुसी ब्यक्त गरे । उनले अगाडि थपे ‘विश्वव्यापी अन्तरसम्बन्धको सन्देश दिएर नेपाललाई चिनाउने नेपाली कलाकारहरु प्रति हामी अत्यन्तै खुसी छौं’ । सोन्सिकले कला क्षेत्रमा दख्खल ब्यक्तिहरुको टिम निर्माण गरि प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराएको सोन्सिकका पूर्व सभापति एवं कार्यक्रम संयोजक राजाराम श्रेष्टले बताए । प्रतियोगितामा कलाकारहरु निहा ठकु, प्रगति मानन्धर, सिजन खड्का, सिर्जना तिवारी, अनामिका खनाल, क्रिस्टिना लामा र दलेन्द्र गुरुङले तीनवटा नेपाली गितलाई मिक्स गरि सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।
बिस्व भरका मानिसहरु सबै एउटै हौं भन्ने मुल भावनाका साथ आप्रवासीहरु बिचको भाईचारा बढाउन यस कार्यक्रमलाई ‘आप्रवासी पर्व’का रुपमा मनाइएको आयोजकको भनाई छ । नेपाल, कोरिया, इन्डोनेसिया, भारत, पाकिस्तान, चेक गणतन्त्र, मंगोलिया, फ्रान्स, काजाकिस्तान, इरान, बंगलादेश, थाईल्याण्ड लगाएत देशका नागरिकहरु द्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्कृतिका विभिन्न पक्षहरूको अवलोकन गरिएको यस कार्यक्रममा ग्वाङ्जु इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (GIST), सन मुन युनिभर्सिटी लगायत अन्य युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी तथा बिभिन्न भिसामा कोरिया रहेका नेपालीहरु गरि ७० भन्दा बढी ब्यक्तिहरुले नेपालको प्रतिनिधित्व गरेका थिए ।
कार्यक्रममा अरु देशहरुले जस्तै नेपालले पनि आफ्नो छुट्टै स्टल खडा गरि नेपाली भेषभूषा, संस्कार, रहन-सहन झल्काउने सांस्कृतिक र परम्परागत सामग्रीहरुको प्रदर्शन गर्नुका साथै नेपाली स्वादका लागि नेपालमा प्रचलित स्वादिलो नेपाली म: म: पनि राखेको थियो । बिदेशको भूमिमा रहेता पनि नेपाल प्रतिको अगाध प्रेम दर्शाउने गरि नेपालको झण्डा बोकेर पानीको फोहरा सहितको मनोरम वातावरणमा तस्वीर खिच्ने , टिकटक बनाउनेहरुको पनि बाहुल्यता देखे पछि कार्यक्रम ब्यवस्थापनको जिम्मा लिएकी सुश्री मौसम खड्का निकै उत्साहित देखिएकी थिईन् । नेपालको स्टल हेर्न आउने बिभिन्न देशका नागरिकहरुलाई नेपाल चिनाउने र नेपाल भ्रमणका लागि निम्तो समेत दिएको कार्यक्रममा सहभागी एक नेपाली प्रतिनिधिले बताए ।
कार्यक्रममा भिक्षु पेमा गालिक, भिक्षु सुधामा, सनसिकका पूर्व सभापति डा. इन्दिरा तिवारी, उप-सभापति श्री मेघनाथ पौडेल, पूर्व उप-सभापति श्री प्रदीप सुवेदीका साथ-साथै सोन्सिकका सल्लाहकारहरू श्री लक्ष्मण मानन्धर, श्रीमती सुष्मा थापा, श्री रकिब, श्री समुन्द्र तिवारी लगायतका बरिष्ठ ब्यक्तित्वहरु तथा स्वयंसेवीहरूको सहभागिता रहको थियो । कार्यक्रमको बिच-बिचमा लक्की ड्र मार्फत सहभागिहरुलाई टिभी, साइकल लगायतका बिभिन्न उपहारहरु दिईएको थियो, जसमा एक नेपाली समुन्द्र तिवारीले कार्यक्रमकै सबैभन्दा ठूलो धन राशिको पुरस्कार एचडी स्मार्ट टिभी जितेका थिए भने अर्का एक नेपालीले साइकल उपहार जितेका थिए ।