केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण

अन्तराष्ट्रिय

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ खानु भएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विषेश समारोहको आयोजना गरिएको थियो ।

समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता गर्नु भएको छ ।

सन् १९६६ मा जन्मिनु भएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गर्नु भएको हो ।

उहाँले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गर्नु भएको हो । पराजित हुनुभएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गर्नु भएको थियो । तर सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गर्नु भएको छ ।