संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पु¥याउन मङ्सिर ४ मा कांग्रेसको जीत आवश्यक : कांग्रेस नेता सिंह

मुख्य समाचार राजनीति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पु¥याउन आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांगेसको बहुमत आवश्यक भएको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायकको गणेशमान वाटिकामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित गर्न जनताको घरघरमा अभियान लिएर जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“हाम्रै नेतृत्वमा शान्ति प्रक्रियादेखि संंविधान निर्माणसम्मको अभिभारा पूरा भयो, अब संविधान कार्यान्वयन गरेर अगाडि बढ्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको छ”, उहाँले भन्नुभयो, “झन्डै दुई तिहाइ बहुमतको नजिक रहेको कम्युनिष्टबाट संविधानलाई निमोठ्ने प्रयास भयो, उनीहरुको भित्रभित्रैको मारामारले दुई–दुईपटक सरकार भङ्ग भयो, अनि बाध्य भएर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो ।” नेता सिंहले देशमा लोकतन्त्र बलियो बनाउँदै संविधानलाई कार्यान्वयन गर्न अब कांग्रेसको नेतृत्व आवश्यक भएको बताउनुभयो ।

कार्यक्रम संयोजक सुरेश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति निशान ढुङ्गेलले निर्वाचनमा कांग्रेसमय बनाउन सबै कार्यकर्ता लाग्ने बताउनुभयो ।