प्रदेश सभा सदस्य
राप्रपा उम्मेदवार, काठमाडौं क्षेत्र नं. ३ (ख)
कमल सुनार नेपाली राजनीतिमा चिरपरिचित नाम हो । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै नेपाली राजनीतिमा सक्रिय हुँदै आउनु भएका सुनार काँग्रेसले विपीको लिएको नीति छोड्दै र राजनीतिमा विचलन हुँदै गएपछि राप्रपाले लिएको नीति सिद्धान्त र विचार मन परेर राप्रपामा समाहित भएको वताउनु हुन्छ । यस पटकको निर्वाचनमा कमल सुनार काठमाडौं क्षेत्र नं. ३ प्रदेश ‘ख’ बाट राप्रपा उम्मेदवार बन्नु भएको छ । काठमाडौं क्षेत्र नं. ३ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का स्थायी बासिन्दा सुनार शिक्षित र धार्मिक व्यक्तित्व हुनुहुन्छ । उहाँ नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रस्तुत छ राप्रपा उम्मेदवार कमल सुनारसँग गरिएको कुराकानीको मुख्य अंश ।
यस क्षेत्रमा तपाईको उम्मेदवारीको कारणहरु बताइदिनुस् न ?
देशमा धर्मनिरपेक्षता लादिएको छ । धर्म निरपेक्षताकै आड–भरोसामा सरकार चलाइरहेका छन् । यसलाई हामी धर्मप्रेमी जनताले आत्मासाथ गर्न सकेका छैनौं र हाम्रो देश धर्म मास्न विदेशीहरुको आडमा यिनै ठुला पार्टी भनाउँदाहरुले धर्म नास गरिरहेका छन् । त्यसको विरुद्ध मेरो उम्मेदवारी हो । हिन्दुहरुको अथाह माया र मतले म विजयी हुने निश्चित छ ?
जनता जित्ने अरु आधार के के हुन् ?
राप्रपाले राजतन्त्र र हिन्दु राज्य स्थापना गर्ने जुन एजेण्डा लिएको छु, यहि एजेण्डामा जनताले मत दिँदैछन् । जहाँ राप्रपा त्यहाँ हिन्दु, जहाँ राप्रपा त्यहाँ राजावादी । जनताले ठुला दलका शासन धेरै हेरि सके, अब राप्रपालाई हेर्दैछन् । राप्रपा जनताको सुख दुःखको साथी हो, म जनताको सेवक बन्न उठेको छु । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनको सुझबुझपुर्ण नेतृत्वले राप्रपाको पक्षमा देशव्यापी रुपमा लहर आइरहेको छ । अब संघ र प्रदेशमा राप्रपाको सरकार हेर्न जनता लालाचित छन् । राप्रपा भनेको राष्ट्रिय एकता, विकास र समृद्धिको संवाहक हो । राप्रपाले जिते मात्र जनता जित्छन् ।
तपाईप्रति यस क्षेत्रका मतदातालाई आकर्षित गर्न के कस्तो कार्यक्रम तपाइसँग छ ?
हामीले लिएर अघि बढेको संवैधानिक राजतन्त्र र हिन्दु धर्म वहालीको प्रमुख मुद्दा नै काफी छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक पैसा घुस खानु भनेको आमाको रगत खानु सरह हो भनेर भन्नु भएको छ । यो हाम्रो लागि पनि मार्ग दर्शन हो, के अन्य दलका नेताहरु यस्तो भन्न सक्छन् । त्यसैले अध्यक्ष लिङ्देनले जुन जुन विचार अघि सार्नु भएको छ र पार्टी केन्द्रले जुन जुन एजेण्डा अघि सारेको छ, त्यसलाई पनि हामी जनता माझ राख्ने छौं । केन्द्र र प्रदेश दुवै स्थानमा जित्ने गरी हामी अघि बढिरहेका छौ ।
तपाई व्यक्तिगत पनि कट्टर हिन्दुवादी हुनुहुन्छ, तपाईलाई मत दिन हिन्दुहरुलाई सन्देश दिनुस् न ?
मैले जिते हिन्दु धर्म मान्ने एउटा योद्धाको विजय हुनेछ । यो कुरा मैले अझ जनताको घर दैलोमा पुगेर बुझाउने छु । अब मलाई छाडेर अन्य उम्मेदवार रोज्न हिन्दुवादीहरुलाई छुट छैन । मेरो विजयले समस्त हिन्दुधर्म मान्ने जनताको पनि सम्मान हुनेछ ।