किसानले बाली लगाउने याममा आवश्यक पर्ने रासायनिक, डिएपीलगायतको मलको अभाव हुन थालेपछि कमल गाउँपालिकाले विकल्पमा प्राङ्गारिक तथा जैविक मल उत्पादन गर्दै आएको छ ।
विगत तीन वर्षदेखि पालिकाले आफ्नै लगानीमा जैविक तथा प्राङ्गारिक र युरिया मल उत्पादन गर्न सुरु गरेको हो । पालिकाले प्राविधिक र स्थानीय स्रोतसाधनमार्फत उत्पादन गरेको मल अगुवा तथा व्यावसायिक किसानलाई निःशुल्क वितरण गर्दै आएको पालिकका कृषि शाखाप्रमुख महेन्द्र बोहोराले जानकारी दिनुभयो ।
रासायनिक मलको सधैँ हाहाकार हुने र यसले माटो एवं पर्यावरणमा समेत नोक्सानी गर्ने भएकाले स्थानीय स्रोतसाधनको प्रयोग गरी जैविक मल उत्पादन गरिएको उहाँले बताउनुभयो । “रासायनिक मलको चरम अभाव छ”, उहाँले भन्नुभयो, “आवश्यक परेको बेला सहजै पाउने र किसानका लागि भरपर्दो पनि अब जैविक तथा प्राङ्गारिक मल नै हो ।”
गाउँपालिकाले उत्पादन गरेको प्राङ्गारिक, युरिया र झोल मल क्षेत्रीय निर्देशनालय तरहराले समेत परीक्षण गरी उत्कृष्ट र उपयोगी ठहर गरेको उहाँको भनाइ छ । पालिकाले आफूले मात्र जैविक तथा प्राङ्गारिक मल उत्पादन नगरेर सहकारी, अगुवा किसान र कृषि फार्महरूलाई समेत तालिम प्रदान गर्दै आएको छ ।
पालिकाले दिएको तालिम दिएर अधिकांश किसानले आफैँ पनि मल बनाउन थालेको कमल–३ का अगुवा किसान कमल राजवंशीले बताउनुभयो । “अहिले मल पाएनौँ भनेर कसैसँग गुनासो गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “आफ्ना खेतीका लागि चाहिने मल आफैँ बनाइन्छ ।” पालिकाले रासायनिक मलको विकल्पका रूपमा सुरु गरेको जैविक तथा प्राङ्गारिक मल उत्पादनमा प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ ।