तरकारी जोगाउन खेतमै बास

कृषि

चारैतिर तरकारी खेती । खेतको एउटा कुनामा काठको टेकोले बनाएको सानो झुपडी । तरकारी खेती जोगाउन यहीँ झुपडीमा जाग्राम बस्दै आएका छन् भीमदत्त नगरपालिका – १६ नयाँ बस्तीका नाथुराम राना । उहाँले खेतमा जाग्राम बस्न थालेको एक महिना भन्दा बढी भयो ।

खेतमा तरकारीको बिरुवा रोपेदेखि उहाँले घरमा बास बस्न पाउनु भएको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका यो बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस छ । निकुञ्जबाट आउने चित्तल र बँदेल लगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका नाथुरामले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “निकुञ्जबाट आउने वन्यजन्तुले खेती नष्ट गरिदिन्छन्”, तरकारी खेतको छेउमा रहेको झुपडी देखाउँदै उहाँले भन्नुभयो, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”

निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उहाँले बताउनुभयो । “जङ्गलबाट हात्ती आउने डर हुन्छ राति डरै डरले बस्नुपर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँको एक जनालाई आक्रमण गरेको थियो ।” करिब ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गर्नुभएका रानाले अहिले खेती विस्तार गरेर १५ कठ्ठामा खेती गर्दै आउनु भएको छ । “तरकारी खेती गरेरै घरखर्च र छोराछोरीको पढाईखर्च चलाइराखेको छु ।”

उहाँले भन्नुभयो, “वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ”, यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जिविकोपार्जन गरिरहेका सुदामा रानाले बताउनुभयो । “यहाँ बस्ने सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अन्यबाली भन्दा तरकारी खेतीमा तीन गुणसम्म फाइदा हुन्छ ।”

तरकारी खेतीबाट राम्रो आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताउनुभयो । “खेती जोगाउन खेतमा बास बस्नुपर्ने बाध्यता छ निकुञ्जले सीमामा तारजाली लगाए पनि वन्यजन्तु आउन छोडेनन”, उहाँले भन्नुभयो, “खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्ुनपर्छ ।”

डेढ दशकदेखि तरकारी खेती गर्दै आउनुभएका यहाँका किसानले भारतबाट आउने तरकारी पनि चुनौती बनेको बताउँछन् । “भारतबाट आउने तरकारीमा विषादी हुन्छ हामी प्राङ्गारिक मलको प्रयोग गर्छौ”, उहाँले भन्नुभयो, “भारतबाट आउने तरकारीका कारण धेरै वर्ष हाम्रो तरकारी खेर गयो ।

Facebook Comments Box