मेघनाथ पौडेल
सऊल, कोरिया
कोरियाको न्याय मन्त्रालयले हाल कोरियामा गैरकानुनी रुपमा बस्दै आएका बिदेशी नागरिकहरुका लागि फेरि पनि स्व-ईच्छाले देश फर्किन सक्ने समयावधि तोकेको छ । मिति 2022.11.7 देखि लागू हुने गरि 2023.2.28 सम्मका लागि तोकिएको उक्त समय अवधि भित्र कोरिया छोड्ने गैरकानूनी विदेशीहरूलाई कुनै जरिवाना नलाग्ने तथा कोरिया पुन: प्रवेशको बाटो पनि खुल्ला रहने यहाँको न्याय मन्त्रालयले जनाएको छ ।
अबैधानिक बिदेशीहरुको संख्या बढ्दै गएपछि केहि समय देखि धरपकड गरि स्वदेश फिर्ता पठाउने अभियान नै शुरु गरि अबैधानिकहरु प्रति कडा रुपमा प्रस्तुत भएको कोरिया सरकारले फेरि लचिलो हुदै स्वेच्छिक फिर्तीको अवसर ल्याएको हो ।
यस अघि पनि कोरोना भ्याक्सिन पुरा गर्ने अबैधानिक बिदेशीहरुका लागि भन्दै पटक-पटक स्वेच्छिक फिर्ताको समयावधि तोक्दै आएको न्याय मन्त्रालयले यसपालि पनि निस्चित समयावधि भित्र स्व-ईच्छाले स्वदेश फिर्ता हुन चाहने अबैधानिक बिदेशी नागरिकहरुले आफ्नो पासपोर्ट, स्वेच्छिक फिर्तीको दर्ता फाराम र प्लेन टिकट लिई फ्लाइट हुने मितिको कम्तिमा 3 दिन अघि अध्यागमन बिभागमा प्रत्यक्ष भेटेर वा अनलाईन बाट स्वेच्छिक फिर्ताको लागि आवेदन दिन सकिने जनाएको छ ।
तर मिति 2022.11.07 पछि अबैधानिक बनेका, यस अघि बिभिन्न आपराधिक गतिबीधिहरुमा सहभागि भएका, नक्कली राहदानी बोकेका, क्वारेन्टाइन नियमहरू उल्लङ्घन गरेका र पहिले नै देश निकालाको लिस्टमा परेकाहरुलाई भने यो सुबिधा नदिईने न्याय मन्त्रालयले जारि गरेको सुचनामा उल्लेख छ ।