मेघनाथ पौडेल
सउल, कोरिया।
३१औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसर पारेर आगामी डिसेम्बर ३ मा कोरिया स्थित संगनाम शहरमा आयोजित नृत्य महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै नृत्याङगना सीता सुबेदीले बिशेष प्रस्तुति दिने भएकी छिन् । एक खुट्टाकै भरमा ब्यवसायिक कत्थक नृत्य द्वारा पछिल्लो समय निकै चर्चा कमाएकी सुबेदी, कार्यक्रमकै शिलशीलामा कोरिया रहेका बेला कोरियाली मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन् । अप्ठ्याराहरुलाई चिर्दै अपांगता भएका ब्यक्तिहरुको कला र संस्कृतिको प्रबर्धन गर्ने परियोजनाका रूपमा स्थानीय सरकारको सहयोग र बिभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको उक्त महोत्सवको नाम ‘फूल नृत्य महोत्सव’ राखिएको छ ।
कोरियामा रहेका नेपालीहरु बिच मात्रै नभई कोरियाली समुदाय माझ पनि आफ्नो परिचय बनाउदै गएकी सुबेदी क्लासिकल वन लेग डान्सरका रूपमा परिचित छिन् । एक खुट्टा भएर पनि कत्थक नृत्यमा अब्बल सुबेदी सन २०१९ मा पनि कोरियाली सरकारद्वारा आयोजित एक कार्यक्रममा प्रस्तुति दिएकी थिईन् । यसपाली हुन गईरहेको महोत्सवमा उनले शास्त्रिय चर्या नृत्य अन्तर्गत अत्यन्तै चर्चित “सोडष लाश्ये नृत्य” प्रस्तुत गर्ने छिन् ।
नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्छ भन्दै आएकी सीता सुबेदी नेपाल भित्र र नेपाल बाहिर नेपाली कला र संस्कृति सम्बन्धि बिभिन्न अभियानहरुमा संलग्न छिन् । हाम्रो संस्कृति नै हाम्रो पहिचान हो भन्ने सुबेदीको बिचार जस्तै कला र संस्कृतिका धनि हामी नेपाली, यसैको संरक्षण र प्रबर्धनमा नै हाम्रो समुन्नति छ भन्न सकिन्छ ।