भर्ना प्रक्रिया सच्चाउन ज्ञापन

राजनीति समाचार

काठमाडौँ, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै त्यसलाई अविलम्ब सच्याउन माग गरेर ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले त्रिवि उपकुलपति प्रा डा तीर्थ खनियाँलाई आज ज्ञापनपत्र बुझाउँदै नतिजाअनुसार भर्ना प्रक्रिया रोकी नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

भर्नाका लागि स्नातक तह प्रथमका लागि तोकिएको कोटा प्रणाली अवैज्ञानिक र अव्यावहारिक भएकाले त्रुटि सच्चाउन माग गरिएको अध्यक्ष तामाङले बताउनुभयो । प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा योग्यता क्रमसूचि (मेरिट) र कोटाको छुट्टाछुट्टै नतिजा सार्वजनिक नगरिएकाले योग्यता क्रमसूची र कोटाको कति क्रम सङ्ख्याबाट भर्ना गर्ने भन्ने स्पष्ट नभएको उहाँले बताउनुभयो ।

‘‘नतिजाअनुसार कोटाको सिटमा भर्ना हुँदा कोटामा बढी अङ्क प्राप्त गर्ने वास्तविक विद्यार्थी अध्ययन गर्नबाट वञ्चित भई कम अङ्क प्राप्त गर्ने विद्यार्र्थी भर्ना हुने स्थिति आउछ’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले नतिजालाई योग्यता क्रमसूची र कोटा छुट्टाउनुपर्दछ ।’’

Facebook Comments Box