सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदै

प्रशासन समाचार

कञ्चनपुर, २ पुस । बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउने कार्य सुरु गरेको छ । गाउँपालिकाले आजदेखि डोजर प्रयोग गरी अतिक्रमण गरिएको जग्गा खाली गराउन थालेको हो ।

पन्ध्र शय्याको अस्पताल निर्माणका लागि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन थालेको गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताउनुभयो । “गत साउन महिनामै ३५ दिने सूचना प्रकाशन गरी अतिक्रमण हटाउन भनेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसपछि मङ्सिरमा सात दिने सूचना जारी ग¥यौँ । अतिक्रमण नहटाइएपछि डोजरको प्रयोग गरी हटाउन थालेका हौँ ।”

उहाँका अनुसार सार्वजनिक अतिक्रमणको चपेटामा परेको एक बिघा १७ कठ्ठा जग्गाको अतिक्रमण हटाइन लागेको छ । “अस्पतालका भौतिक संरचना निर्माणका लागि ठेक्का आह्वानको कार्य भइसकेको छ”, उहाँले भन्नुभयो, “तत्काल जग्गाको अतिक्रमण हटाउनुपर्ने भएकाले यस कार्यमा लागेका छौँ ।” गाउँपालिकामा ७२ बिघा जग्गा ग्रिन बेल्टको अतिक्रमणमा परेको छ । गाउँपालिका उपाध्यक्ष शान्ति नाथले अस्पतालका लागि मात्रै नभएर अतिक्रमणमा परेको पूरै जग्गाको अतिक्रमण हटाउनुपर्ने अडान लिनुभएको हो ।