हेलम्बुमा ह्योल्मो संस्कृति झल्कने घर

राजनीति समाचार

मेलम्ची, २२ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तेम्बाथानमा ह्योल्मो मौलिक संस्कृति झल्कने ४० घरधुरीको एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विसं २०७२ को भूकम्पबाट प्रभावित स्थानीयवासीको ह्योल्मो संस्कृति झल्किने झ्यालको प्रयोग गरी बनिरहेका ४० मध्ये २३ घरको काम सम्पन्न भइसकेको छ । बाँकी घर, शौचालय र खानेपानीको काम एक महीनाभित्र सम्पन्न हुने एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष साङ्गे लामाले जानकारी दिनुभयो ।

भूकम्पपछि पुनःनिर्माण भइरहेका घरमा ह्योल्मो कला संस्कतिको पुरानो मौलिक झ्याल ढोका प्रयोग नभएको पाइएको थियो । त्यसपछि यसको लोप हुने अवस्था आएको भन्दै स्थानीयवासीको सुझाव र सरकारको भूकम्प प्रतिरोधी भवन निर्माणको नक्साअनुसार ह्योल्मो कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नाम्बाखुसुङ झ्यालको प्रयोग गरेर बस्ती निर्माणको काम भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । एकीकृत बस्तीको निर्माणसँगै घरबास सञ्चालन गरेर पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

ह्योल्मो संस्कृतिको मौलिक कला झल्किने एउटा झ्याल बनाउन करीब रु ८० हजार लाग्ने सो निर्माणाधीन एकीकृत बस्तीमा ‘इन्टरलक’ इँटाको प्रयोग गरी तीनकोठे घर, शौचालय, एक घर एक धारासहितको प्रति घर जनश्रमदानसहित अनुमानित रु १० लाख ५० हजार लाग्ने बताइएको छ ।

जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोक र अक्सफामको रु तीन करोड तथा हेलम्बु गाउँपालिकाको रु एक करोड आर्थिक सहयोगमा बस्ती निर्माण भइरहेको जनहित ग्रामीण सेवा समिति, सिन्धुपाल्चोकका कार्यकारी निर्देशक राजेद्र शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box