कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
कोरियन नयाँ वर्ष सल्नाल विदाका अवसरमा सुदूरपश्चिम समाज, कोरियाले यही जनवरी २१ तारिखका दिन आयोजना गर्न लागेको ” सेती महाकाली साँगीतिक सौगात भाग-४” को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक संस्थाका महासचिव महेश बजगाइँका अनुसार कार्यक्रममा लोक गीत सङ्गीत क्षेत्रमै चर्चित गायक एवं मोडेल प्रकाश सपूत, लोक आधुनिक एवं पप गीत संङ्गीतकी सर्वोत्कृष्ट गायिका मेलिना राइ, हास्य कलाकार सुमन कार्की र देउडा गायक गायिका टंक तिमिल्सेना र गौरी भट्टले आफ्ना उत्कृष्ट प्रस्तुति दर्शक माझ पस्किनेछन्। कलाकारहरू जनवरी २० तारिख बिहानै इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरी टिकट समेत निश्चित गरेको कार्यक्रम संयोजक यज्ञमान नायकले बताए। सिओल सहरको ऐतिहासिक दरबार दोङ्देमुन(पूर्वी ढोका) बाट एक स्टेसनको दूरीमा मात्रै रहेको छोङ्नो ओ गा मा रहेको भव्य हलमा कार्यक्रम आयोजना हुँदैछ। सउल मेट्रो लाइन नं. १ को छोङ्नो ओ गा को गेट नं. २ बाट सजिलै कार्यक्रमस्थलमा पुग्न सकिनेछ भने दोङ्देमुनबाट नि:शुल्क मोबाइल बसको पनि पनि व्यवस्था गरिएको छ।
कोरोना संक्रमण पछिको पहिलो भव्य साँगीतिक धमाका हुँनाले खचाखच दर्शकका बीच गुल्जार हुनेमा हामी आशावादी छौँ! कला एवं संस्कृति विभाग संयोजक कृष्ण भण्डारीले भने। कार्यक्रम तयारी सम्बन्धी छलफल एवं समीक्षा गर्न गत् शनिबार बेलुकी वोइजम्बुमा बैठक समेत बसेको थियो। अध्यक्ष सन्तोष सुवर्णकारको अध्यक्षतामा बसेको उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष डि आर पनेरु,व्यवस्थापन संयोजक महेश भट्ट, स्वयंसेवक परिचालन संयोजक अमर भट्ट, कोषाध्यक्ष एवं आर्थिक संयोजक टंकेश्वर खड्का लगायतले आफ्नो जिम्माको कार्य प्रगति विवरण पेस गरेका थिए।
समाजले उक्त गरिमामय कार्यक्रममा उपस्थित भइदिन हुन कोरियामा रहेका सबै नेपाली संघ संस्था, सामाजिक अभियन्ता, व्यावसायी एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।