रामेछाप महिला उद्यमी सङ्घमा नयाँ नेतृत्व

आर्थिक समाचार

रामेछाप महिला उद्यमी सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । मन्थलीमा आइतबार सम्पन्न साधारणसभाले डम्बरकुमारी भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः तारादेवी थापा, सङ्गिता श्रेष्ठ, गोमाकुमारी श्रेष्ठ र सङ्गिता अधिकारी रहनुभएको हो । त्यसैगरी सदस्यमा क्रमशः रीता ढुङ्गेल, कविता श्रेष्ठ, विमला श्रेष्ठ र रमिता कार्की रहनुभएको हो । मन्थलीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की खड्काले गर्नुभएको थियो ।

कार्कीले महिला सशक्तीकरणबिना आर्थिक विकास सम्भव नहुने उल्लेख गर्दै भन्नुभयो, “महिला उद्यमी सङ्घको संस्थागत विकाससँगै महिलालाई स्थानीय उत्पादनमार्फत आर्थिक समृद्धिसँग जोड्नुपर्छ, त्यसका लागि स्थानीय सरकारले मुख्य भूमिका निर्वाह गर्नुपर्छ ।”

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले महिला उद्यमीलाई आफूले गर्ने कामको प्रस्ताव नगरपालिकामा पेश गर्न आग्रह गर्नुभयो । उहाँले महिला उद्यमीबाट उत्पादित वस्तुका लागि कोसेली घरको व्यवस्थापन गर्ने कुरामा पनि मन्थली नगरले अग्रसरता लिने बताउनुभयो ।

रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कार्कीले महिला उद्यमी सङ्घको संस्थागत र आर्थिक विकासका लागि रामेछाप नगरपालिका पनि सहयोग गर्न तयार रहेको भन्दै नीतिगत रुपमा नगरमा आउन पनि कार्कीले आग्रह गर्नुभयो ।