रुपन्देही बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहजीकरण गर्ने उद्देश्यसहित भैरहवामा मङ्गलबारदेखि सात दिने लोकल टुर गाईड (स्थानीय पठथ प्रदर्शक) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय मातहत रहेको पर्यटन विकास परिषद्को आयोजना एवं नेपाल टुरिजम एण्ड होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को संयुक्त सहकार्यमा तालिम आयोजना गरिएको हो ।
बेलहिया नाका हुँदै आउने पर्यटकलाई सहजीकरण गरी विशेष गरी लुम्बिनी तथा यस आसपासको क्षेत्रबारे जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताउनुभयो । “यसपछि लुम्बिनी, बर्दियालगायत पर्यटकीय गन्तव्यमा यस्ता तालिम आयोजना गरिनेछ,” उहाँले भन्नुभयो, “तालिमबाट युवा स्वरोजगार हुने र प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुनेछ ।”
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट गरी ४० जना सहभागी रहेको जोशीले जानकारी दिनुभयो । नाथमका विभागीय प्रमुख अजय ढकालले दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको प्रतिनिधि भएकाले यस्ता कार्यक्रममा सहकार्य सुरु गरिएको बताउनुभयो । “सुरुमा पर्यटन परिषद्सित पथ प्रदर्शकलगायत तालिमका कार्यक्रममा सहकार्य गरेका छौँ”, उहाँले भन्नुभयोे, “आगामी दिनमा अनुसन्धानलगायत काममा सहकार्य गर्ने योजना रहेको छ ।”
लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री जानकीप्रसाद यादवले प्रदेशका पर्यटकीय गन्तव्य पहिचान गरेर तिनको विकासका योजना बनाउने बताउनुभयो । “कसरी धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने चिन्ता छ”, यादवले भन्नुभयो, “पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव छ ।”
यादवले दुई छिमेकी मुलुक भारत र चीनबाट कसरी धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्नेबारे निजी क्षेत्रसित छलफल र समन्वय गरेर योजना बनाउने तयारी भइरहेको बताउनु्भयो । “दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्रसित समन्वय गरिनेछ”, उहाँले भन्नुभयो, “यसका लागि बाधा रहेका ऐन, नियम परिवर्तन गर्न म तयार छु ।” कार्यक्रमका वक्ताले यस क्षेत्रमा पथ प्रदर्शकको राम्रो आयआर्जन गर्नसक्ने वातावरण रहेको बताउँदै तालीम राम्ररी लिन सहभागीलाई आग्रह गरेका थिए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धीचरण)ले पर्यटन पथ प्रदर्शन आकर्षणको पेसा भएको बताउनुभयो । “लुम्बिनीमा विश्वका अधिकांश मुलुकबाट पर्यटक आइरहेका छन्”, उहाँले भन्नुभयोे, “त्यसैले गाइडले धेरै भाषा सिकेर आफूलाई व्यावसायिकरुपमा तयार गर्नुपर्छ ।” पर्यटकले बोल्ने भाषा सिकेमा युवाले मुलुकमै बसेर धेरै कमाउन सक्ने उहाँको भनाइ थियो । कपिलवस्तुको तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुने र पश्चिम नवलपरासीस्थित रामग्रामको गुरुयोजना बनाएर विकास गर्न लागिएकाले पथ प्रदर्शकलाई धेरै अवसर रहेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव खट्किएकाले स्थानीय क्षेत्रमा जनशक्ति नपाउने समस्या हटाउन यस्ता तालीम कार्यक्रम सहयोगी रहने उहाँले बताउनुभयो ।