‘नागरिकले अनुभूति गर्ने किसिमको सुरक्षा हुनुपर्छ’

समाचार

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले आमनागरिकले सुरक्षाको अनुभूति गर्ने गरी प्रहरी सङ्गठनले सुरक्षा दिनुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ परिसरभित्र नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले जबसम्म नागरिकले सुरक्षाको प्रत्याभूति गर्न सक्दैन, तबसम्म प्रहरीको सुरक्षा राम्रो मान्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “भरपर्दो शान्ति सुरक्षा कायम गर्न नागरिक समाजको साथ अपरिहार्य हुन्छ ।”

भौतिक संरचना निर्माण पश्चात शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनीकरणलगायत कार्यसम्पादन गर्न सहज हुने प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको भनाइ थियो । प्रहरी सङ्गठन राज्यको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले जीर्ण भवनबाट पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।

सङ्घीय सरकारको रु तीन करोड ४६ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि न्यू डागन निर्माण सेवासित २०७६ मङ्सिरमा सम्झौता भएको थियो । यस्तै सिनियर प्रहरी अधिकृत आवास भवन रु एक करोड २६ लाखको लागतमा पब्लिक कन्स्ट्रक्सनले निर्माण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।