तनहुँ, २५ माघ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गुरुङ जातिको भाषा, धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् काठमाडौँको आयोजनामा आज दमौलीमा आयोजित ऐतिहासिक दोस्रो केन्द्रीय पार्षद् सभाको उद्घाटन गर्नुहुँदै उहाँले भाषा संस्कृतिको धनी रहेको गुरुङ समुदाय पुरानो ढङ्गबाट मात्रै नभई आधुनिकतातर्फ पनि उन्मुख हुन जरुरी रहेको बताउनुभयो । देश एउटा बाटोमा गइसकेकाले गुरुङ जाति पनि सोहीअनुरुप लाग्न सक्नुपर्ने उहाँको भनाइ छ ।
पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङले सरकारले ल्होछार, उभौलीजस्ता पर्वको बिदा कटौती गरेर गुरुङ जातिलाई अपमान गरेको आरोप लगाउनुभयो । आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगतमानसिं बरामले गुरुङ समुदायले परिकल्पना गरेको तमुवान प्राप्त गर्न नसके पनि कुनै दिन तमुवान बनाउने दीर्घकालीन सोचका साथ अघि बढिरहेको बताउनुभयो ।
