प्रजातन्त्र सेनानी एवं कांग्रेस नेता ठकुरीको निधन

मुख्य समाचार समाचार

राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताउनुभएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको आज निधन भएको छ ।

नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवं नेपाली कांग्रेस भक्तपुरका आठौँ जिल्ला सभापति रहँदै प्रजातान्त्रिक आन्दोलनमा पटकपटक जेल जीवन बिताउनुभएका ठकुरीको आज सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित आफ्नै निजी निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो ।

विसं १९८२ कात्तिक १३ गते बालकोटमा जन्मनुभएका ठकुरीले जनतालाई शिक्षा लिन अभिप्रेरित गर्दा राणा शासकले पटकपटक त्यसो नगर्न धम्की दिई मानसिक यातना दिएको उहाँको परिवारले जानकारी दिएको छ । कांग्रेसका नेता एवं नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले विसं २००७ को राणा विरोधी आन्दोलनमा सहभागी भई प्रजातन्त्र स्थापनामा सक्रिय ठकुरी प्रजातन्त्र स्थापनापछि शिक्षण संस्था स्थापना गरी जनतालाई शिक्षाको चेतना फैलाउने अभियानकर्मी पनि रहेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले सुरु गरेको भूमिसुधार अभियानमा सहभागी भई किसान आन्दोलनमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कायस्थले जानकारी दिनुभयो । राजा महेन्द्रले विसं २०१७ पुस १ गते तत्कालीन जननिर्वाचित सरकारलाई अपदस्थ गरी प्रजातन्त्र खोसेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा होमिँदा फर्पिङबाट काठमाडौँ आउने बिजुलीको लाइन काट्ने अभियानमा संलग्न भएकामा उहाँले आठ वर्ष निर्वासनमा बिताउनुपरेको थियो ।

त्यसपछि ठकुरीले विसं २०३६ को जनमत सङ्ग्रह र विसं २०४२ को सत्याहग्रमा प्रजातन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभयो भने २०४२ सालको सत्याग्रहमा कान्छा छोरा सुनिल ठकुरी र भाई कृष्णबहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरी कारागान चलान गरेपछि उहाँ केही समय भूमिगत हुनुपरेको थियो ।

स्वर्गीय ठकुरीका चार छोरा र दुई छोरी रहनुभएको नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिनुभयो । स्वर्गीय ठकुरीको बालकोटस्थित निजी निवासमा पार्टी जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पार्टीको झण्डा ओढाउनुभएको थियो । त्यसपछि घरबाटै शवत्राया गरी आजै पशुपति आर्यघाटमा हिन्दू धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको कांग्रेस जिल्ला सचिव बस्नेतले जानकारी दिनुभयो ।

आर्यघाटमा नपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको झण्डा ओढाउँदै ठकुरीले पार्टी र देशप्रति गरेको योगदानलाई पार्टीले सधैँ स्मरण गर्ने बताउनुभयो । आर्यघाटमा कांग्रेस नेता प्रकाशमान सिंह, रामहरि खतिवडालगायतका केन्द्रीय नेताले समेत ठकुरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

ठकुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य थापाले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले स्वर्गीय ठकुरीको योगदानलाई सधैँ जीवन्त राख्ने बताउनुभयो ।