अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज सिरहाको लहानमा जनजागरण सभा सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको एक ¥याली बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीले विभेद विरुद्धको दिवस नै विभेदमा परेको भन्दै समाजमा विद्यमान जातीय विभेद तथा छुवाछूतका अवशेष अहिले पनि बाँकी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासदेखि दलित समुदायमाथि गरिँदै आएको पशुतुल्य अमानवीय विभेदको विरुद्धमा आजको युगको गैरदलित पुस्ताले आफ्नो पुर्खाले गरेको गल्ती कमीकमजोरीहरूको क्षतिपूर्ति वापत दलित मुक्ति र अधिकारका लागि सबैभन्दा बढी झण्डा बोकेर आन्दोलित हुनुपर्ने आजको आवश्यकता र दायित्व हो ।”
कार्यक्रममा सुवोध गौतम, प्रकाश अनुराग, सुधा साह, कामेश्वर प्रदेशीलगायत राष्ट्रिय कालाकारको उपस्थिति रहेको थियो । कलाकारले आफ्नो कलामार्फत जातीय विभेद तथा छुवाछूतलाई समाजबाट हटाउनुपर्नेमा जोड दिएका थिए । खासगरी पछिल्लो समय ऐन, कानून र सार्वजनिक प्रतिबद्धताअनुरूप सामाजिक जागरणका क्रियाकलाप अगाडि नबढ्दा विभेदका घटना भइरहेका छन् । बढ्दो जातीय विभेद तथा छुवाछूतको घट्नाले बहसलाई फेरि नयाँ ढङ्गले अगाडि बढाउँदै राज्यबाटै हस्तक्षेपकारी भूमिका जरुरी रहेको सामाजिक अगुवाको भनाइ छ ।
अभियन्ता अर्जुन थपलियाले व्यवस्था बदलिए पनि मानसकिता नबदलिएका कारण अहिले पनि वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय आधारमा नेपाली समाजमा विभेद जीवित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान, कानून र ऐन छन् तर कार्यान्वयन हुँदैनन् । असन्तुलित सामाजिक शक्ति सन्तुलनको संरचनाले नै राज्यको उपस्थिति र भूमिकालाई पनि प्रभावित गरिरहेको छ । कमजोर वर्ग समाजमा अधिकारविहीन छन् ।” उहाँका अनुसार व्यवस्था परिवर्तन भए पनि मानिसको व्यवहारमा परिवर्तन हुन सकेको छैन ।
नेपालमा जातीय विभेद तथा छुवाछूत कानूनी रूपमा वर्जित छ । तर पनि जातीय भेदभाव तथा छुवाछूतका कारण हुने अमानवीय व्यवहार अहिले पनि रोकिएको छैन । अझ जातीय, भौगोलिक उत्पीडन र विभेदको चर्को विरोध गर्दै समावेशिता र सङ्घीयताको सबैभन्दा बढी वकालत गर्ने मधेस प्रदेशमा नै जातीय विभेद तथा छुवाछूतका घटना डरलाग्दो रहेको सरोकारवालाको भनाइ छ ।
सन् १९५९ मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जातिमाथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा भएको विरोध प्रदर्शनमा ६९ जनाको मृत्यु भएको सम्झनामा सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेयता हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९७१ मा सो महासन्धिलाई अनुमोदन गरेको थियो ।
