पूर्वराष्ट्रपति डा रामवरण यादवले लायन्स क्लबले मानव सेवाको विविध क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
लायन्स क्लब ३२५ एफ को पहिलो साधारणसभाको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै उहाँले लायन्स क्लबले नेपालको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको र अब वातावरण संरक्षणका क्षेत्रमा पनि योगदान गर्न आवश्यक भएको बताउनुभयो ।
पूर्वराष्ट्रपति डा यादवले कुनै बेला धान चामल निर्यात गर्ने देशका रूपमा चिनिएको नेपालमा अहिले बर्सेनि अर्बको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएकाले कृषि उद्यम, आर्थिक विकास र पर्यावरण संरक्षणमा युवालाई जुट्न आग्रह गर्नुभयो ।
उद्योगपति एवं लायन राजेन्द्र खेतानले समृद्ध देश बनाउनका लागि लगानीमैत्री वातावरण, सामूहिक प्रयास तथा अठोटको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । भोलिसम्म चल्ने वार्षिक साधारणसभाबाट नयाँ नेतृत्वको चयन गर्ने लायन्स क्लब अफ ३२५ एफका अध्यक्ष डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
