भट्टराईको जित सुनिश्चित छ : महामन्त्री शर्मा

राजनीति

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आउनुभएका महामन्त्री शर्माले आज तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताउनुभएको हो ।

पहिला पनि गठबन्धनले जितेको र सोहीअनुसार उपनिर्वाचनमा पनि गठबन्धन गरिएको र उम्मेदवार पनि राम्रो भएकाले जित निश्चित रहेको उहाँले उल्लेख गर्नुभयो । उम्मेदवार भट्टराईसँग केही दिनपछि संसद्मा भेट हुने बताउनुभयो । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।

साथै महामन्त्री शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताउनुभयो । “पार्टी छोडेर गएका मूल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ’’, महामन्त्री शर्माले भन्नुभयो । विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकताबद्ध भएर पार्टी बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताउनुभयो ।

तनहुँ–१ का उम्मेदवार भट्टराईले घर फोहर भयो भनेर घर छाड्न नहुने बताउनुभयो । उहाँले घरलाई सफा बनाएर सिङ्गारेर बस्नुपर्ने बताउनुभयो । राष्ट्रपति बन्नुभएका रामचन्द्र पौडेले मङ्सिर ४ को निर्वाचनको बेला जनता समक्ष गरेका वाचा तथा कबुल पूरा गर्ने भट्टराईले बताउनुभयो ।