भूतपूर्व गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।
संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा आज भएको सो बैठकमा गत ३ नोभेम्बर २०२२ मा भएको समितिको पहिलो बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाका बारेमा भएको प्रगतिको समीक्षा भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
संयुक्त अधिराज्यका तर्फबाट ‘डिफेन्स पिपुल, भेटरान्स एण्ड सर्भिस फेमिलिज’ राज्यमन्त्री एन्ड्रियु मुरिसन तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबीच बैठक सम्पन्न भएको हो ।
यसअघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयमा पुनःप्राविधिक तहको बैठक र आगामी सेप्टेम्बर महिनामा द्विपक्षीय समितिको अर्को बैठक बस्ने तय भएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भका रुपमा रहेका भूपू गोर्खाका मागका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न रक्षा राज्यमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।
बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख दिलीप पौडेलले नेपाल सरकारको तर्फबाट भूपू गोर्खाको माग सम्बोधनका विषयमा आफ्नो विचार राख्नुभएको थियो । भूपू गोर्खाकोतर्फबाट जुद्धबहादुर गुरुङले सम्बोधन हुन बाँकी सबै मागका विषयमा विस्तृतमा आफ्नो धारणा राख्नुभएको थियो ।
यसैगरी बैठकमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाकोतर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा संयुक्त अधिराज्य सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।