टोपमान परदेश हिँड्ने दिन आमाले आँगनका डिलको सिस्नु टिपिन्,पकाइन्,फ्याप्लो फत्काँइन् र खान दिइन्।
टोपमान साथीको लहैलहैमा दिल्ली पुग्यो।कुल्ली ज्यामीमा जागिर पायो।पान खान सिक्यो।दारु सिको।सुपारी नभइनहुने भयो।हिरोहिरोनी चिन्न थाल्यो।
नौ महिनामै टोपमान घर आयो।झोला दलानमा राखेर आँगनका डिलमा उभियो।छोराको आगमनले आमा हर्षित भइन्।
टोपमान-(सिस्नुतिर देखाउँदै) माँ ये गाछको नाम के भन्छ?
आमा-(छक्क पर्दै)के भन्छ यो टोपे पनि!सिस्नु चिन्दैनस् कि क्या हो?हिजो अस्तिसम्म खाको कुरो!
टोपमान-अम्मा मेरेको टोपे टोपु टोपमान नही कहनू।हामीको नाम अब् टोमी भैहाल्यो। म टोमी हुँ।
यसरी छोटो समयान्तरमै टोपमान टोमी भएर सिस्नु नचिन्ने भयो।
केही वर्ष पहिले मेरा साथीले छोराको नाउँ ज्याफ्री,ज्याफ्री भुर्तेल र छोरीको चाहिँ लिन्डा राखे।पुरोहितले जुराइदिएको उमाकान्त र शारदा नाउँ सुन्नै मानेनन्।उनले किन त्यस्तो नाउँ राखे भन्दा ट्याकट्याकटुकटुक अङ्ग्रेजी बोल्दा रछन्;विदेशतिर पनि डुलेका रछन्।
ऐले ती दाजुबहिनी ज्याँठे र लिँडी !
तिनका हजुबाउ,साथी,नातागोता गाउँले सबैले बोलाउँने नाउँ -ज्याँठे अनि लिँडी! ज्याफ्री र लिन्डा नेपाली जिब्रामा पचेन।अहिले ती दुईलाई एक किसिमको हिनताबोध छ।
यो सानो दृष्टान्त मात्र हो।नाउँ रखाइले व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्छ।
नाम भनेको पहिचान हो-संस्कृतिको,भूगोलको,भाषाको,धर्मको,जातको,लैङ्गिकताको र यस्तैयस्तै।
हु जिन ताओ उपाध्याय,नवाङ छेप्तेन जमरकट्टेल,गोबरधन ह्याकेल्सन,पं लिप्टन निरौला, महम्मद गौतम,साइनी खकुरेल,इरिक पुडासैनी,मुजीबुर कोइराला,बिक्की थपिनी, लुरी घिमिरे
यस्ता नामहरूले हामीलाई कहाँ पुर्याउँछन्।राष्टियता नाउँसँग पनि जोडिन्छ।यो त पन हो।हाम्रो सत्व हो।मूल्य हो।जीवनपद्धति हो।कुरा ठुला गर्ने अनि छोराछोरीको नाउँ अमौलिक बनाउँनेहरूले देशको मायाँ गर्दैनन्।ती चाकरीबाज हुन्-पश्चिमा परस्त!
मेरो आग्रह छ सबै दम्पतिलाई ताकि सन्तानको नामकरण गर्दा माटो बोलोस्,जात छुट्टियोस्,संस्कार चिनियोस्,लिङ्ग छुट्टियोस्
र भाषा बुझियोस्।
Facebook Comments Box