राष्ट्रपतिद्वारा दुःख व्यक्त

मुख्य समाचार राजनीति समाचार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा समवेदना
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले केहीबेरअघि मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभयो ।

मुख्यमन्त्री राईद्वारा शोक व्यक्त
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना मृत्युबाट आफू दःखी भएको बताउनुभएको छ ।
मुख्यमन्त्री राईले सन्देशमा विद्यार्थी जीवन हुँदै सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्नु भएको अन्त्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको र दुर्घटनाबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको सन्देशमा उल्लेख गरिएको छ ।

सन्देशमा मुख्यमन्त्री राईले दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

Facebook Comments Box