नगरसभाद्वारा नीति तथा कार्यक्रम एवं बजेट पारित

आर्थिक समाचार

भरतपुर महानगरपालिकाको १३ औँ नगरसभाले आज आगामी वर्षका लागि नीति तथा कार्यक्रम एवं बजेट सर्वसम्मत पारित गरेको छ ।

महानगरपालिकाले आव २०८०/०८१ का लागि अनुमानित आय व्ययसहितको रु छ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट पास गरेको हो । नगरसभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० पारित गरेको हो ।

यस्तै नगरसभाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सःशर्त अनुदान धुर्मुस सुन्तली फाउण्डेसनलाई अनुदानका रूपमा भुक्तानी गर्ने सर्वसम्मतले पारित गरेको छ ।

नगरसभा समापन कार्यक्रममा प्रमुख रेनु दाहालले सबै नगरवासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । महानगरको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उहाँको भनाइ थियो । नीति तथा कार्यक्रम पूर्णरूपमा कार्यान्वयन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताउनुभयो ।

असार १० गते महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँट तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आवको बजेट विनियोजन गर्नुभएको थियो ।

यसको व्यवस्थापन केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट रु ५० करोड, बैंक मौज्दातबाट रु एक अर्ब ६५ करोड तथा सडक बोर्ड नेपालबाट रु तीन करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गर्नुभएको छ ।

अन्तरसरकारी अख्तियारी शीर्षकमा महानगरपालिकाले रु एक अर्ब १० करोड अनुमानित आय हुने अनुमान गरेको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाका लागि रु एक अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई रु दुई करोड ७५ लाखका दरले रु ७९ करोड ७५ लाख विनियोजन गरिएको छ ।

सभामा १५ जना सदस्यले महानगरपालिकाको विकास निर्माण, जनताको माग र चाहनाका साथै कार्यसम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राख्नुभएको थियो ।

सो अवसरमा महानगरपालिका प्रमुख दाहाल, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विषयगत क्षेत्रबाट आएका जिज्ञासाको समाधान गर्नुभएको थियो ।