मानव संशाधनको विकासविना भौतिक विकास हुनसक्दैन : मुख्यमन्त्री शर्मा

मुख्य समाचार राजनीति समाचार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गुणस्तरीय शिक्षा कर्णालीको आवश्यकता भएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतको बीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशमा सार्वजनिक शिक्षासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री शर्माले शिक्षामा गुणस्तरीयता कायम हुन नसक्दा प्रतिस्पर्धी बजारमा कर्णालीले बढी जोखिम उठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँका अनुसार मुलुकको चौतर्फी विकासका लागि गुणस्तरीय शिक्षा र त्यसभित्र गरिखाने शिक्षा आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिसँग जोडेर शैक्षिक क्षेत्रको बृहत्तर विकासका लागि आगामी वर्षमा प्रदेशका १० वटै जिल्लामा एक÷एक वटा नमूना विद्यालय निर्माण गर्ने योजना बनाइएको छ ।” मानव संशाधनको विकासविना भौतिक विकास हुन नसक्ने उहाँको भनाइ छ ।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको माटो सुहाउँदो शिक्षाको आधार तयार गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले शैक्षिक गुणस्तर कायम गर्न बोलीभन्दा पनि कार्यान्वयन मुख्य रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले शिक्षा क्षेत्रमा हुने लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्ने भन्दै यसको विकासमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले उच्च शिक्षाको गुणस्तर सुधारको प्रमुख आधार विद्यालय शिक्षा भएको प्रतिक्रिया दिनुभयो ।

प्रा डा विद्यानाथ कोइरालाले शैक्षिक गुणस्तरमाथि उकास्न सरकारसहित सबै सरोकारवालाको समन्वय र सहकार्य आवश्यक रहेको जनाउनुभयो । अन्तरक्रियामा सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्ले, बहुमुखी क्याम्पस सुर्खेतका प्रमुख माधवप्रसाद खनालले कर्णाली शैक्षिक अवस्था, उच्च शिक्षाको सम्भावना तथा चुनौतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।