हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति मन्त्री किरातीद्वारा दुःख व्यक्त

मुख्य समाचार समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै सोकसन्तप्त परिवारजमा समवेदना प्रकट गर्नुभयो । उहाँले सरकारले दुर्घटनाको यथार्थ छानबिन गर्ने बताउनुभयो ।

मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताउनुभयो । “हुन त आकाशमा के हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । तथापि प्राविधिक तथा अन्य कारणले हुने दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ भन्ने सरकारको स्पष्ट नीति छ”, मन्त्री किरातीले भन्नुभयो ।

त्यसैगरी उहाँले आज भएको हेलिकप्टर दुर्घटनाबारे सरकारले अध्ययन समिति बनाएर छानविन गर्ने र दुर्घटनाको कारणसमेत पहिचान गर्ने बताउनुभयो ।

आज बिहान ९ः५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडान भरेको कल साइन ९ एनए–एमभी भएको हेलिकप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएकामा सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हेलिकप्टरमा सवार पाइटलसहित छ यात्रु सबैको मृत्यु भएको थियो । हेलिकप्टरमा पाँच जना मेक्सिकाली नागरिक रहेका थिए ।