‘राष्ट्रिय अभिलेखालयमा सरकारको ध्यान पुग्न सकेन’

प्रशासन समाचार

राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले राष्ट्रिय महत्त्वका अभिलेखहरूको सङ्कलन, संरक्षण र व्यवस्थापन गर्ने मुलुकको एकमात्र सार्वजनिक निकाय उपेक्षित भएको गुनासो गर्नुभएको छ । राष्ट्रिय अभिलेखालयमा सरकारको ध्यान पुग्न नसकेको उल्लेख गर्दै उहाँले अभिलेखालयको कार्यसम्पादनका लागि सधैँ बजेट अभाव हुने गरेको सुनाउनुभयो ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिद्वारा अभिलेखालयमा आज गरिएको निरीक्षणका क्रममा महानिर्देशक प्रधानाङ्गले केन्द्रमा मात्र सीमित रहेको अभिलेखालयप्रति सरकारले उचित ध्यान दिन नसकेको समितिका सदस्यसमक्ष गुनासो गर्नुभएको हो । “तालुक मन्त्रालयबाट पठाएका ऐतिहासिक महत्त्वका सङ्कलित कागजपत्र अभिलेखालयमा सुरक्षित छन् । सिमानासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका सबै कागजपत्र अभिलेखालयमा छैन । यसको सङ्कलन गरी संरक्षण गर्न जरुरी छ”, महानिर्देशक प्रधानाङ्गले बताउनुभयो ।
अभिलेखालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरगत शाखा विस्तार गर्नुपर्नेममा जोड दिँदै उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा रु १० करोड बजेटको माग गरेकामा दश लाख विनियोजन भयो । पछि पुनः माग गरी दुई करोड रहेको छ । व्यवस्थितरूपमा सञ्चालन गर्न सोही बजेट अभिलेखालयका लागि कमी हो । बजेट, जनशक्ति व्यवस्थापन र ठाउँ अभिलेखालयको मुख्य समस्या रहको छ ।”

समितिका सभापति मायाप्रसाद शर्माले अभिलेखालयको काम प्रशंसनीय रहेको बताउनुभयो । “ऐतिहासिक कागजातको संरक्षण तथा व्यवस्थापनमा अभिलेखालयको काम प्रशंसनीय छ ।  यसलाई अझ प्रभावकारी बनाउन आवश्यक छ । यस कार्यमा कानुनीलगायत अन्य सहजता प्रदान गर्न समिति प्रतिबद्ध छ”, सभापति शर्माले बताउनुभयो ।

त्यस्तै समितिका सदस्यले नेपाली सभ्यता, इतिहास, कला, संस्कृतिको संरक्षणमा अभिलेखालयका राष्ट्रियस्तरका सभ्यताको पनि सङ्कलन र संरक्षणमा थप पहल गर्नुपर्ने, समितिले कानुनी सहजता गर्ने, सङ्कलन हुन नसकेका सन्धिसम्झौताका कागजपत्र ‘जी टु जी’मार्फत सङ्कलन गर्नुपर्नेलगायतका विषय राख्नुभएको थियो।  अभिलेखालयमा अभिलेख शाखा र माइक्रोफिल्म तथा विद्युतीय रेकर्ड व्यवस्थापन शाखा गरी दुई शाखा रहेको छन् । अभिलेखालयमा प्राप्त सम्पूर्ण कागजपत्र डिजिटलाइज गर्ने प्रक्रियामा रहेको माइक्रोफिल्म तथा विद्युतीय रेकर्ड व्यवस्थापन शाखा प्रमुख कुमार श्रेष्ठले बताउनुभयो ।
“पाँच वर्षअघिदेखि सङ्कलित कागजातको डिजिटिलाइज गर्ने काम सुरु भएको छ । अभिलेखालयका सम्पूर्ण कागजात डिजिटलाइज गर्ने प्रक्रियामा काम भइरहेको छ”, उहाँले बताउनुभयो । मूलप्रतिबाहेक विद्युतीय अभिलेखको ठूलो सङ्कलन फोटोग्राफिक प्रविधिबाट दश हजार माइक्रोफिल्म रोलहरूमा छविकृत दुई लाख पाण्डुलिपि तथा कागजातका लगभग साठी लाख पन्नाहरूको ठूलो सङ्ग्रह पनि सुरक्षित रहेको अभिलेखालयले जनाएको छ ।

अभिलेखालयको सङ्कलनमा विश्वमा नै दुर्लभ मानिएका पाँचौँ शताब्दीदेखिका विविध सामग्रीमा लेखिएका हस्तलिखित ग्रन्थसहित लगभग ५० हजार अभिलेखका मूलप्रति व्यवस्थितरुपमा भण्डारण गरिएका छन् ।

त्यस्तै दुर्लभ हस्तलिखित गन्थ्रमध्ये ताडपत्रमा लेखिएका पाण्डुलिपि रहेका छन् । इतिहास, संस्कृति, धार्मिक, अनुष्ठान, वास्तु, ज्योतिष, दर्शनशास्त्र र चिकित्सा आदिसँग सम्बन्धित ११औँ शताब्दीदेखिका करिब २० हजार तिब्बती पाण्डुलिपि र काठेछापा अभिलेख सङ्कलित छन् ।

अभिलेखालयमा सङ्कलित सार्वजनिक रेकर्डहरूमा लालमोहर, स्यामोहर, ताम्रपत्र, खड्गनिशाना, ऐतिहासिक कागजात, शाही आदेश र सरकारद्वारा विभिन्न समयमा जारी गरिएका आदेश, सन्धिका साथै विभिन्न ऐतिहासिक पत्रहरू रहेका छन् ।
विसं २०७२ मा जारी गरिएको संविधानको मूलप्रति, विभिन्न समयमा सम्पन्न भएका निर्वाचनका मतदाता नामावली, कुमारीचोकका कागजात, निजामती किताबखानाका रेकर्ड, शिलालेखका नक्कल प्रतिहरू, परराष्ट्र तथा कानुन मन्त्रालयबाट प्राप्त कागजातका सक्कल प्रतिहरू सङ्कलनमा रहेका छन् ।

त्यस्तै गोरखापत्र र द राइजिङ नेपाल पत्रिकाको स्थापनाकालदेखि हालसम्मका अङ्कहरू अभिलेखालयमा सुरक्षितरूपमा भण्डारण गरिएका छन् । मल्लकालदेखि राजदरबारका विभिन्न स्थानमा राखिएका हस्तलिखित पाण्डुलिपिको संरक्षण हनुमानढोका दरबार, थापाथली दरबार हुँदै वीर पुस्तकालयमा भएको थियो । यसरी सङ्कलन तथा व्यवस्थापन गरिएका पाण्डुलिपिको अनुसन्धान र प्रकाशन प्रयास अगाडि बढाउनका लागि राजपरिवारले पुस्तकालय खडा गरी व्यवस्थितरूपमा भण्डारण भएकामा सोही पुस्तकालयको विकसित रूप नै राष्ट्रिय अभिलेखालय हो ।

आफ्नो कार्यक्षेत्रलाई अझ विस्तृत तथा व्यापक बनाउँदै यसलाई सम्पूर्ण ऐतिहासिक तथा सार्वजनिक रेकर्ड वा अभिलेखको सङ्कलन तथा भण्डारको मूल थलो वा केन्द्रका रूपमा रहने गरी डकुमेन्ट सेन्टर, अध्ययन अनुसन्धानकर्ताले विभिन्न विषय, विधा वा क्षेत्रका कागजात अध्ययन गर्न सक्ने गरी अनुसन्धान केन्द्र, सहकारी तथा अर्धसरकारी निकाय वा निजी सङ्कलनमा रहेको अभिलेखको रासायनिक, भौतिक संरक्षण, गुणस्तरीय प्रतिलिपि उत्पादन गर्नेलगायतका संरक्षणका सम्पूर्ण कार्य गर्ने, संरक्षण केन्द्र, डिजिटल अभिलेख गुणस्तर, आधिकारिकता, सुरक्षित भण्डारण तथा व्यवस्थापन गर्ने गरी डाटा सेन्टर तथा तालिम केन्द्रका रुपमा विकास गर्ने अभिलेखालयको भावी योजना रहेको छ ।

Facebook Comments Box