बैतडी, २ चैत । नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको मुख्य आवश्यकता भनेको देशलाई समृद्धिको बाटोमा लैजानु रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस बैतडीले सिगासमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको समृद्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले सरकारको गतिविधिप्रति आम नागरिकमा निराश छाएको धारणा व्यक्त गर्दै सिके रावतसँग सम्झौता गरी नेत्रविक्रम चन्दलाई राजनीतिबाट प्रतिबन्ध लगाउनु गलत हो भन्नुभयो । काङ्ग्रेसले धेरै लोकप्रिय काम गरेको भए पनि जनतामाझ पु-याउन नसक्दा पछि परेको उहाँको भनाइ छ ।
काङ्ग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाले पार्टीलाई पुर्नजीवन दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । प्रशिक्षण यही चैत १० गतेसम्म सञ्चालन हुने बताइएको छ ।