नेपाली कांग्रेसका संस्थापक नेता जननायक बिपी कोइरालाको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ ।
बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज साँझ टुडाँलदेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले बिपीको विचार र चिन्तनलाई कांग्रेसले सधँै अगाडि बढाउने बताउनुभयो । उहाँले बिपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेको काम आजसम्म कुनै सरकारले गर्न नसकेको बताउनुभयो ।
“आर्थिक दृष्टिकोण विनाको राजनीतिक अगाडि बढ्न नसक्ने बिपीको विचार थियो, बिपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको आर्थिक उन्नति धेरै अगाडि बढ्थ्यो”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ का सभापति रामप्रसाद न्यौपानेले बिपीको स्मृति दिवसलाई विभिन्न तरिकाले मनाउने क्रमअनुसार दीप प्रज्ज्वलन गरिएको बताउनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बिपी राष्ट्रवादी राजनेता भएको उहाँको भनाइ थियो ।
